काठमाडौं ।
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा नभई निषेध र प्रतिशोधको बाटो अपनाएर निर्वाचनको वातावरण बिगार्न उद्यत भएको निष्कर्ष निकालेको छ ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार करिब १० घण्टा चलेको बैठकले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै अदालत जाने र लोकतन्त्र तथा संविधान पक्षधर दलहरूसँग संसद् पुनस्र्थापनाका लागि संवाद गर्ने निर्णय गरेको छ ।
बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले पार्टी र नेताहरूलाई गतिविधि गर्न नदिएर चुनावी माहोल धमिल्याउने प्रयास गरेको बताए ।
संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै अदालत खुल्नासाथ न्यायिक परीक्षणमा जाने निर्णय भएको उनले जानकारी दिए ।
यसैगरी, बैठकले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २५ देखि २९ सम्म चितवन वा काठमाडौं उपत्यकामा आयोजना गर्ने निर्णय गरेको छ ।
महाधिवेशन नयाँ नेतृत्व चयन, राजनीतिक प्रतिवेदन पारित र संगठनात्मक रणनीति निर्माणमा केन्द्रित हुनेछ ।
तीन दिनदेखि जारी पदाधिकारी बैठकले महाधिवेशन र संगठनात्मक पुनर्गठनका विषयलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ सम्म काठमाडौंमा बस्ने तय भएको छ ।
प्रकाशित मिति २०८२ असोज २७ गते सोमबार ०९:२९




