काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा हिजो प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उनले चुनावलाई अवसरको रूपमा लिनुपर्ने बताएका हुन् ।
सो निर्वाचनमा भ्रष्ट र बदमासलाई जित्न नदिन जेनजी युवालाई उनले आग्रह गरेका छन् ।
उनले युवा पुस्ताले चलाएकोआन्दोलनले देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नयाँ चुनाव घोषणा गरिएको उल्लेख गरे ।
यो चुनावलाई राष्ट्रको काँचुली फेर्ने महाभियानका रूपमा लैजान युवाहरूलाई आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा जेनजीका प्रतिनिधिलाई राखेर छलफल गरेको स्वीकार गरे ।
आन्दोलनकारीका बाँकी मागबारे सरकारले ध्यान दिने स्पष्ट पारे ।
उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिमा रहेको राष्ट्रिय एकता प्रवर्धन गर्ने अधिकार प्रयोग गरी यो अन्तरिम सरकार गठन भएको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थपूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे ।
जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचारविरुद्ध भएको उल्लेख गरेका थिए ।
उनीहरूले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै आन्दोलनलाई मान्यता दिँदै आन्दोलनका माग पूरा हुनुपर्ने दृढता व्यक्त गरेका थिए ।
बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए ।
बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उपार्जुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए ।
प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार ०९:२४




