मुस्ताङ ।
स्याउ खेतीमा स्थानीयको आर्कषण तथा खेती विस्तारसँगै यस वर्ष मुस्ताङबाट एक अर्ब १० करोड बराबरको स्याउ बिक्री भएको छ ।
गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार उत्पादन बढेसँगै यसबर्ष १ अर्व १० करोड २३ लाख ७० हजार रूपियाँको स्याउको कारोबार भएको हो । गतबर्षको तुलनामा करिब १० करोडको स्याउ बढी बिक्री भएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरूङको भनाई छ ।
यसबर्ष मुस्ताङको स्याउको माग अत्याधिक भएकाले बजारको कुनै समस्या छैन् । मुस्ताङमा ८ सय ९२ क्षेत्रफलमा स्याउ खेती गरिएकोमा स्थानीय प्रजातिको रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजीमा ८ सय ३२ हेक्टर तथा उच्च घनत्वको (हाइब्रिड) ६० हेक्टरमा रहेको छ ।
यसबर्ष स्थानीय प्रजातिको कुल ५ सय ८३ हेक्टर क्षेत्रफलबाट रू ७८ करोड ८९ लाख ७० हजार र उच्च घनत्वमा ६० हेक्टरमा उत्पादन भएको ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको छ । स्थानीय प्रति हेक्टर १०.४१ र उच्च घनत्व २६.१२ मेट्रिक्टन स्याउ उत्पादन हुन्छ । पछिल्लो समय मुस्ताङका स्याउ कृषक गाला र किङरोड जातको स्याउ खेतीमा आर्कषित भएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी १ सय ३० रूपियाँ र हाइब्रिड प्रतिकेजी २सय रूपियाँ औषध मुल्य तोकिएको छ ।
मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका लागि हब मानिन्छ। पछिल्लो समय उपल्लो मुस्ताङका लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले समेत स्याउ खेतीलाई प्राथमिकता दिएकाले स्थानीय र उच्च घनत्वको स्याउ उत्पादन बढ्ने केन्द्र प्रमुख गुरूङले बताए ।
मुस्ताङमा घुम्न जाने स्वदेशी पर्यटकले कोशेलीको रूपमा समेत स्याउ लैजाने गर्दछन् ।
प्रकाशित मिति २०८२ कात्तिक ३ गते आइतबार ०२:४७




