पोखरा ।
काभा महिला यु–१९ च्याम्पियनसिप भलिबलमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो ।
त्यसअघि आजै आयोजक श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
चार टोली सहभागी च्याम्पियनसिपमा राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।
कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । गत वर्ष भएको महिला यु २० च्याम्पियनसिपमा नेपालले कास्यपदक जितेको थियो ।
यसपटक लामो समयको तयारी भएकाले अझै सुखद नतिजा आउने टोलीका मुख्य प्रशिक्षक कुमार राईले बताए ।
टोलीले झन्डै डेढ महिना काभाको तयारी गरेको थियो ।
जेनिसा विश्वकर्माको कप्तानीमा रहेको नेपाली टोलीमा मीना सुनार, आशिका श्रेष्ठ, कुस्मा डाँगी, निसा महर, सम्झना नेपाली, एन्जिला प्रधान, प्रतिभा चौधरी, भावना तामाङ, सुनिता खत्री, रेबिका लामा र विनिता राना छन् ।
यो टोलीमा ६ जना सदस्य गत काभा महिला यु–२० च्याम्पियनसिप खेलका खेलाडी हुन् ।
प्रकाशित मिति २०८२ कात्तिक १९ गते मंगलबार ०९:५१




