घनश्याम पाण्डेय
स्याङ्जा ।
स्याङ्जा जिल्लाको भीरकोट–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भैरव कालिका मन्दिर स्वरेक कोटको बृहत्तर विकासका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ।
भैरव कालिका मन्दिर पूजासमितिले सञ्चालन गरेको उक्त अभियानले छोटो समयमै स्थानीय तथा बाहिरी भक्तजनको उल्लेखनीय साथ पाएको छ। समितिका अध्यक्ष कृष्ण सेनका अनुसार, १५ दिनभित्रै ५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ।
भक्तजनहरूको आस्था र विश्वासको केन्द्रका रूपमा चिनिने यस मन्दिरमा “मनोकामना पूरा हुने स्थल”का रूपमा जनविश्वास रहँदै आएको छ। बाइसे–चौविसे राज्यकाल भन्दा पनि पुरानो इतिहास बोकेको यो मन्दिर अहिले पनि गण्डकी प्रदेश सरकारले तोकेको ११० गन्तव्यमध्ये एकका रूपमा सूचीकृत छ।

अध्यक्ष सेनका अनुसार, भौतिक संरचनाको अभावका कारण मन्दिरको पहिचान अनुरूपको विकास हुन नसकेको र अब ठूलो घण्टीसहितको भव्य संरचना निर्माण गर्ने योजना अघि बढाइएको हो। “हामीले आस्थाको प्रतीकलाई अझ आकर्षक र व्यवस्थित बनाउने लक्ष्यका साथ अभियान थालेका हौं,” उनले बताए।
स्थानीयवासीहरूले पनि मन्दिर विकासमा सरकार पुगोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूका अनुसार, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्भावना बोकेको स्वरेक अझ प्रचार–प्रसार र लगानी पाएमा धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्नेछ।
पहिले पहिले सूचना प्रविधिको पहुँच सीमित हुँदा टाढाटाढाबाट समेत दर्शनार्थी आउने गरेका भए पनि अहिले प्रविधि सुलभ हुँदाहुँदै पनि पर्याप्त प्रचार नहुँदा मन्दिरको सम्भावना ओझेलमा परेको स्थानीयहरू बताउँछन्।
भक्तजनहरूको आस्था र विश्वासको केन्द्रका रूपमा चिनिएकोले निरन्तर सहयोग आउने क्रम जारी रहेको समितिले जनाएको छ ।
प्रकाशित मिति २०८२ कात्तिक २२ गते शुक्रबार १२:३१




