पोखरा ।
संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिसी यु–१९ एसिया कप नेपाली युवा टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली युवा टोलीलाई बिदाइ गरेको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र उपाध्यक्ष रोशन सिंहले नेपाली टोलीको बिदाइ गरेका हुन् ।
आगामी डिसेम्बर १२ देखि २१ सम्म युएईको दुबईमा यु–१९ एसिया कप हुँदैछ ।
नेपाली टोली गत डिसेम्बर १ मा युएईमा सम्पन्न एसिसी प्रिमियर कपको उपविजेता बन्दै एसिया कपमा स्थान बनाएको हो ।
प्रिमियर कपको च्याम्पियन युएई, नेपाल र तेस्रो टोली मलेसियाले एसिया कप खेल्दैछन् । एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।
अर्को समूह ‘ए’ मा युएई, भारत, पाकिस्तान र मलेसिया छन् । क्यानले मंगलबार नै अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो ।
जारी एनपिएलमा कर्णाली याक्सबाट प्रतिस्पर्धा गरेका युवरात्र खत्री र विपिन शर्मा पनि नेपाली टोलीमा छन् ।
टोलीको अन्य सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक र वंश छेत्री छन् ।
एनपिएलमा व्यस्त रहेकाले विपिन र युवराज प्रिमियर लिग खेल्न गएका थिएनन् । नेपालको पहिलो खेल श्रीलंकासँग डिसेम्बर १३ तारिख खेल्नेछ ।
दोस्रो खेल डिसेम्बर १५ मा बंगलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका छ । ती खेल सेभेन्स स्टेडियममा हुनेछन् ।
दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।
प्रकाशित मिति २०८२ मंसिर २५ गते बुधबार १२:४४




