काे काे छन् सम्भावित अनुहार ?
पोखरा महानगरपालिकाले महानगरस्तरीय प्रज्ञा प्रतिष्ठान गठनको तयारी थालेसंगै पोखरामा क्रियाशिल कला, साहित्य, संस्कृति तथा संगित क्षेत्रका मानिसहरुमा चासो र चर्चा बढन थालेको छ ।
पाेखरा महानगरपालिकाले गठन गर्न लागेकाे पाेखरा प्रज्ञा प्रतिष्ठानकाे नेतृत्व चयनकाे प्रक्रिया अन्तिम चरणमा पुगेकाे छ । नेतृत्वकाे नाम सिफारिस गर्न गठित सिमितका विज्ञ सदस्य मनकुमार श्रेष्ठका अनुसार यही हप्ताभित्र प्रज्ञा प्रतिष्ठानले पूर्णता पाउने सम्भावना छ ।
यस अघि, महानगरकाे नगरसभाले यस क्षेत्रकाे कला, साहित्य तथा संँस्कृतिकाे संरक्षणमा भूमिका खेल्ने गरी पाेखरा प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरेकाे थियाे । त्यसका लागि पाेखरा प्रज्ञा प्रतिष्ठान ऐन पारित गरी छनाैट समिति समेत बनिसकेकाे छ । महानगर वडा नं. ७ का वडाअध्यक्ष रामचन्द्र बरालकाे संयाेजकत्वमा गठित समितिमा महानगरका प्रशासन शाखा प्रमुख भरतराज पाैडेल र विज्ञ सदस्यका रूपमा मनकुमार श्रेष्ठले काम गरिरहेका छन् ।
प्रज्ञा प्रतिष्ठानको नेतृत्व चयन गर्दा पाेखरामा विगत लामाे समयदेखि साहित्य, कला, संगित तथा सँस्कृतिका क्षेत्रमा याेगदान गरिरहेकाहरूबाटै हुने गरी सिफारिस गरिने सिफारिस समितिका सदस्य श्रेष्ठले बार्दली न्युजलाई बताए । श्रेष्ठका अनुसार सम्बन्धित क्षेत्रमा लामाे अनुभव हासिल गरेकाहरूलाई समावेशीताको आधारमा सिफारिस गरिनेछ ।
महानगर प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र ८ जना प्राज्ञ सदस्यहरू गरी ११ जना रहनेछन् । सदस्य सचिव महानगरकै प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ भने दुई जना प्राज्ञ सदस्यहरू महानगरका मेयरले नियुक्ती गर्ने व्यवस्था छ । यसरी ८ जनाकाे नियुक्तीका लागि केही दिनमा समितिले सिफारिस गर्ने बताएको छ ।
नेतृत्वमा सम्भावित अनुहारहरू
बार्दली न्युजलाई प्राप्त जानकारीका अनुसार पाेखरा प्रज्ञा प्रतिष्ठानकाे नेतृत्व पद्मराज ढकाल वा मेनकाजी गुरूङमध्ये एक जनाले गर्ने सम्भावना छ । यी दुवै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटअनुहार हुन। जसध्य ढकाल गीतसंगितको क्षेत्रमा र गुरुङ् नृत्यसंग सम्वन्धित छन । ढकाल नेकपा निकट साँस्कृतिक माेर्चा जनसाँस्कृतिक महासंघकाे केन्द्रीय सदस्य समेत रहेकाले उनकाे नेतृत्वमा गुरूङ उपकुलपति हुने गरी प्रज्ञा प्रतिष्ठान गठन हुने स्राेतकाे दावि छ । गुरूङ पाेखरामा रहेकाे हिमाली साँस्कृतिक परिवारका अध्यक्षका रूपमा कार्यरत छन् ।

ढकालले व्यक्तिगत रूपमा भने महानगर प्रज्ञा प्रतिष्ठान भन्दा प्रदेश प्रज्ञा प्रतिष्ठानमा जान इच्छा व्यक्त गरेकाले उनले पद अस्विकार गरेमा गुरूङकाे कुलपति बन्ने ढाेका खुल्नेछ । यस्ताे समिकरण बनेकाे खण्डमा कुनै गैर राजनैतिक अनुहारलाई उपकुलपतिकाे रूपमा देख्न पाइने हुनसक्छ । त्यसमा गजलकार प्रकट पंगेनी ‘शिव’ वा लेखक गनेस पाैडेलको नाम चर्चामा छ । दुवै नेपाली साहित्यका चिर परिचित अनुहार हुन ।

यसबाहेक, नारायण परीश्रमी र सरस्वति श्रेष्ठ ‘सरू’ काे नाम पनि कुलपति र उपकुलपतिमा चर्चामा छ । परीश्रमी पूर्व नेकपा (एमाले) निकट जनसाहित्य मञ्चमा केन्द्रीय उपाध्यक्ष थिए भने प्रदेश सांसद तथा युवा नेता राजिव पहारीकाे ससुरा समेत हुन् । उता श्रेष्ठ लामाे समय पाेखरामा बसेर साहित्य साधना गरिरहेकी महिला साहित्यकार हुन् । मेनकाजी गुरूङले कुलपति र उपकुलपति पद नपाएकाे अवस्थामा महिला तथा जनजातिका रुपमा उनकाे नियुक्ती हुन सक्ने सम्भावना छ ।

प्रज्ञा प्रतिष्ठानकाे प्राज्ञ सदस्यहरूमा भने कृष्ण भण्डारी, जीवन दाहाल, प्रकाश ज्ञवाली, सुरेन्द्र गुरूङ, लक्ष्मण गाैतम ‘हिमाली’ सुरज उपाध्याय, आनन्द बज्राचार्य, सुनिल थापा, धनबहादुर गायक, काजि गाउँले, प्रतिक थापा, लाेकप्रसाद गुरूङ, बुद्धि गुरूङ ‘धम्पु’, मिलन शेरचन, परिवर्तन, विश्व पराजुली, नवराज बराललगायत तीन दर्जन बढिले आकांक्षा व्यक्त गरेका छन् । यस मध्येबाट जम्मा ८ जना प्राज्ञ सदस्यमा नियुक्त गर्नुपर्ने र समावेशिता, भुगाेल र सबै विधालाई समेत ख्याल गर्नुपर्ने भएकाले धेरैकाे आकांक्षा पुरा गर्न भने महानगरलाई हम्मे हम्मे पर्ने देखिन्छ ।
महानगरले प्रथम पटक गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठान सम्वन्धित विषय र क्षेत्रका अग्रज तथा क्रियाशिलहरुभन्दा बाहिर जाने तथा दलीय नियुक्तीलाई पहिलो प्राथमिकतामा राख्दा आलोचनामुक्त हुने भने देखिँदैन ।
प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०५:०२




