पोखरा ।
साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बंगाल फुटबल क्लबले खेल्दैछन् ।
यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ ।
यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन् ।
एपीएफ र इस्ट बंगालबीच आउँदो शनिवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एक खेल अगावै शीर्ष दुईमा रहेर यी दुई टोली फाइनलमा पुगिसकेका हुन् ।
लिग चरणका तीन खेलमा एपीएफले सात अंक जोड्दा इस्ट बंगालले ९ अंक जोडेको छ । आजको खेल जित्ने टोलीले लिगको शीर्ष स्थानमा रहेर उपाधिका लागि खेल्नेछ ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा नेपाल, भारत, भुटान, बङगलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् ।
साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ देखि काठमाण्डौमा शुरू भएको हो ।
उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।
बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन् ।
प्रकाशित मिति २०८२ पुस २ गते बुधबार १२:१२