पोखरा ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले अंगिकार गरेको उदारीकरण नीतिअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने निर्णयले निजी क्षेत्रमा चर्को विरोध झेलेको थियो । तर आर्थिक विकासका लागि वैज्ञानिक कर प्रणाली आवश्यक रहेको धारणा राख्दै तत्कालीन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष आनन्दराज मुल्मीले भ्याट कार्यान्वयनको पक्षमा दृढ अडान लिए । देशभर उद्योगी–व्यवसायीको दबाबबीच उनले पोखरा उद्योग वाणिज्य संघलाई भ्याटको महत्वबारे बुझाएपछि संघ पहिलोपटक भ्याट कार्यान्वयनको पक्षमा उभिएको थियो । अन्ततः २०५४ साल मंसिर १ गते नेपालमा भ्याट लागू भयो, जुन आज मुलुकको प्रमुख राजश्व स्रोत बनेको छ ।
यही ऐतिहासिक भूमिकालाई स्मरण गर्दै पोखरा उद्योग वाणिज्य संघले बुधबार भ्याट सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना ग¥यो । जर्मन सहयोग संस्था जीआइजेड–आरएसआरएसडीको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीसँग समन्वय गरी कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रममा भ्याट के हो, कसरी तिर्ने, बिल–बिजक राख्ने प्रक्रिया र दण्ड–जरिवानाबाट बच्ने उपायबारे जानकारी दिइएको थियो ।
संघका अध्यक्ष गोकर्ण कार्कीले भ्याटबारे सही जानकारी हुँदा गलत सूचना र अफवाह रोक्न मद्दत पुग्ने बताए । गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले सही सूचना प्रवाह पत्रकारिताको मूल धर्म भएको उल्लेख गरिन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले कर जस्तो जटिल विषयलाई सरल रूपमा बुझाउन तालिम उपयोगी हुने बताए ।
संघकी महासचिव शोभा गौतमका अनुसार तालिममा करिब ६५ जना पत्रकार सहभागी थिए भने चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले सहजीकरण गरेका थिए । इच्छुक पत्रकारका लागि दोस्रो चरणको तालिम पनि आयोजना गरिने संघले जनाएको छ ।
प्रकाशित मिति २०८२ माघ ९ गते बिहीबार १२:१५




