२०८३ असोज २४ गते शनिबार

नेकपा कास्की–१ को सम्पर्क कार्यालय उद्घाटन

नेकपा कास्की–१ को सम्पर्क कार्यालय उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १८ गते शनिबार १२:५३

कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का नेकपाका उम्मेदवार राजकाजी गुरुङ करणले विगतमा नेकपाका नेताहरूले क्षेत्रको विकासका लागि गरेका काम अन्य पार्टीका नेताहरूको भन्दा प्रभावकारी रहेको बताए ।

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

नेकपाका नेता तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्न, देश जोगाउन र समाजवादतर्फ अघि बढ्न नेपाली कम्युनिष्ट पार्टीको जित अनिवार्य रहेको बताए ।

उनले संसद पुनःस्थापनाको एजेन्डा बोकेका कांग्रेस–एमाले तथा एजेन्डाविहीन नयाँ भनिने शक्तिहरूले देशको नेतृत्व र विकास गर्न नसक्ने दाबी गरे ।

कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का नेकपाका उम्मेदवार राजकाजी गुरुङ करणले विगतमा नेकपाका नेताहरूले क्षेत्रको विकासका लागि गरेका काम अन्य पार्टीका नेताहरूको भन्दा प्रभावकारी रहेको बताए ।


उनले जनताको सुख–दुःखमा सधैं साथमा रहेको र आगामी दिनमा पनि रहने प्रतिबद्धता व्यक्त गर्दै तारा चिन्हमा मतदान गरी अवसर दिन क्षेत्र नम्बर १ का मतदातासँग आग्रह गरे ।

नेकपाका केन्द्रीय सदस्य दीपक कोइरालाले स्थापित राजनीतिक मूल्य–मान्यता र व्यवस्थाको संरक्षणका लागि नेकपाको जित आवश्यक रहेको बताए ।

उनले देश र राष्ट्रको विकासका लागि आगामी निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गर्दै कास्की क्षेत्र नम्बर १ मा नेकपाको जित सुनिश्चित रहेको दाबी गरे ।

त्यस्तै नेकपा गण्डकी प्रदेश संयोजक गायत्री गुरुङले पार्टी पंक्ति एकताबद्ध रहेको र जित निश्चित रहेको बताइन् ।

कार्यक्रममा केन्द्रीय सदस्य इन्द्रप्रसाद बरालले निर्वाचन आचारसंहिताबारे जानकारी गराएका थिए भने निर्वाचन परिचालन समिति सहसंयोजक पूर्ण लामाले कास्की क्षेत्र नम्बर १ अन्तर्गतका सबै वडामा भेला सम्पन्न भइसकेको जानकारी दिए ।

प्रकाशित मिति २०८२ माघ १८ गते शनिबार १२:५३
हजुरको प्रतिक्रिया