पोखरा ।
यही माघ २७ गतेदेखि हुने २५औं आहा रारा पोखरा गोल्डकपमा १२ टोली सहभागी हुने भएका छन् ।
आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी संस्करणको गोल्डकपमा १२ टोली सहभागी हुने टुंगो लागेको जनाएको छ ।
गोल्डकपमा आयोजक सहारा क्लब पोखरासहित नेपाल पुलिस क्लब, चर्च व्वाइज युनाइटेड, मनाङ मस्र्याङदी, नेपाल एपीएफ क्लब, प्लानिङ व्वाइज युनाइटेड र जाउलाखेल युथ क्लब सहभागी हुनेछन् ।
यस्तै भारत सिक्किमको थनडरबोल्ड नर्थ युनाइटेड, मछिन्द्र फुटबल क्लब, हङकङको गोर्खा इन्टरनेशनल क्लब, उज्वेकिस्तानको आभा फुटबल क्लब र यसपटक भारतको एक टिमले पनि सहभागिता जनाउने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
फागुन ९ गतेसम्म चल्ने गोल्डकपमा यसपटक पुरस्कारमा पनि वृद्धि गरिएको छ । विजेता हुने टोलीले १४ लाख एक हजार र उपविजेता हुने टोलीले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
यसअघि विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउँदै आएका थिए ।
२५औं संस्करणमा पुगेको अवसरमा यसपटक सहाराले गोल्डकपका खेलहरु पोखरा रंगशालामा फ्लडलाइटमा खेलाउँदै छ ।
क्लबका अध्यक्ष थापाले गोल्डकपका लागि अस्थायी फ्लडलाइट जडान गरेर खेल सञ्चालन गरिने जानकारी दिए ।
प्रकाशित मिति २०८२ माघ १९ गते आइतबार ०३:५३




