शरीरका अंगहरु र शारिरिक प्रणालीमा भएको समस्याको कारण भौतिक, सामाजिक, साँस्कृतिक वातावरणका साथै संचारको कामलाई सामान्य रुपमा संचालन गर्न एवं सामाजिक जीवनमा सहयोगी हुन कठिलाई हुने अवस्थालाई अपाङ्गता भनिन्छ । नेपालमा राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा कूल जनसंख्याको १.९४% अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सम्बन्धी एक अध्ययन अनुसार अन्य व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्तिको वेरोजगार दर बढी छ । अपाङ्गता नभएका व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्तिको सेवामा पहुचँको दुरी वा खाडल ७०५-९०५ रहेको छ । उनीहरुलाई रोजगारीको अवसरहरुमा जोडिन र सामाजिक जीवनमा सहयोगी हुनको लागि सहायक सामाग्रीको न्यून पहुँच छ । प्रत्येक ८ जनामा १ जनाले मात्र सहायक सामाग्री पाउछँन् । पोषण युक्त खानाहरुमा पहुचको कमी, लैंगिक सवाल, अपाङ्गता भएका पुरुष र महिलामा तुलना गर्दा महिलाको अवस्था झन् पछाडी छ ।
अपाङ्गताभित्र पनि बाैद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता, श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति अधिकांश समाजमा देखिन सकेका छैन । नेपालको संविधान २०७२ ले अपाङ्गता भएका व्यक्तिका बारेमा सि आर पिडीको भावना प्रतिबिम्वन गर्न प्रयत्न गरेको छ । हरेक वर्ष डिसेम्वर ३ तारिखका दिन विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ । यसरी अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइरहँदा विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिहरुप्रति केहि सकारात्मक सुधार पनि भएको पाइन्छ ।
शिक्षा दिने निकायहरु रोजगार दिने निकायहरुमा यातायतका साधनहरु, सार्वजनिक स्थलहरु अपाङ्गता अनुकुल नहुँदा अपाङ्गता भएका व्यक्तिहरु दिनँहु समस्या सामना गर्नुपरेको छ । समाजवाट, परिवारवाट हुँदै भेदभाव खेपिरहेका उनिहरु यस्ता समस्याहरुले गर्दा घरबाट बाहिर निस्कन नसक्ने अवस्था छ भने कतिपय अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच नै छैन् । यसरी सार्वजनिक यातायतको प्रयोगमा दैनिक भोग्नुपरेको कठिनाईका कारण र यस्ता सवारी साधनमा पहुँच नै पुग्न नसक्दा उनीहरु एकातिर सक्रिय रुपमा सार्वजनिक जीवनमा सहभागी हुन सकिरहेका छैनन भने अर्कोतिर समाजमा उपलव्ध सेवा, सुविधा, अवसर र विभिन्न अधिकारको समान उपभोग गर्नबाट बञ्चित हुनु परेको अवस्था छ ।

सार्वजनिक सवारी साधनको प्रयोग देखि लिएर उनीहरुको जिवनमा आईपर्ने सानातिना कुराहरुको लागि पनि अरुमाथि भर पर्ने अवस्था छ । कयौं नीति नियम बन्यो भनेता पनि अपाङ्गता भएका व्यक्तिहरुको पीडा भने समाज र राज्यले संवेदनशिल भएर बुझ्न सकेको छैन । अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानको लागि प्राथमिकताका आधारमा कुनै पनि सरकार अगाडि बढेको पाइदैन । भएका नीति नियम र कानुन पनि टाठा र वाठाहरुको लागि मात्रै हो भन्ने सर्वसाधारणको मस्तिष्कमा परिरहेको छ । कानुन पालनामा कन्जुस्याइ हुँदा अपङ्गता भएका व्यक्तिहरु झनै निराश देखिन्छन ।
अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार हनन हुँदै गएको स्थिति छ । कुनै व्यक्ति अपाङ्ग हुँदैमा उसले अपाङ्ग अधिकारमा मात्रै रुमलिरहनु पर्छ र ? अपाङ्गमा भएका नागरिक पनि मानव हुन् भने अपाङ्ग अधिकार भनेर श्रेणी छुट्टाउनु जरुरी छ ? उदाहारणका लागि कुनै साङ्ग नागरिक सबै दृष्टिकोणले हेर्दा चुस्त र स्फुर्तिलो छ भने त्यस बेलासम्म उ मानव अधिकार भित्र पर्छ । उ माथि केहि भइहाल्यो भने मानव अधिकारवादीहरु वकालत गर्न पछि पर्दैनन् । तर जब त्यही मानिस दुर्घटना वा रोगका कारण अपाङ्गताको स्थितिमा फस्यो भने त्यो बेला उ निर्धौ र कमजोरमा गनिन्छ अनि अपाङ्ग अधिकार खोज्न बाध्य हुन्छ ।
अहिलेसम्म नेपालको इतिहासमा अपाङ्गतासम्वन्धी कानुनका अध्ययन गर्ने हो भने हात्तिको देखाउने दाँतको रुपमा मात्रै कानुन रहेका छन् । अपाङ्ग शसक्तिकरणको नाममा खुलेका विभिन्न संघ संस्थाहरु शहरी र सुविधा सम्पन्न ठाउँमा केन्द्रित हुनाले वास्तविक अपाङ्गहरु यसबाट लाभान्वित हुन सकिरहेका छैनन् । अझ यस्ता संघ संस्थाहरुमा पुरुषहरुको नै बाहुल्यता छ । अपाङ्गता भएका महिलाहरुको वास्तविक गणना हुन पनि सकिरहेको छैन र उनिहरु आफ्नो अधिकारको लागि आवाज मुखरित हुन सकिरहेको अवस्था पनि छैन । राज्यप्रदत्त अधिकारहरु र सुविधाहरु सामान्य अपाङ्गता भएका पुरुषहरुले बढी उपयोग गरिरहेको अवस्था छ ।स्वयम संगठित संस्था र राज्य आफै सामान्य प्रगतिलाई नै उपलब्धिको रुपमा लिएको छ । तर लोकतान्त्रिक राज्यमा भने आवाज विहिनहरुको आवाज बुलन्द हुनुपर्ने हुन्छ । पहुँच विहिनहरुहरु पहुँचमा आउनुपर्ने हुन्छ ।
राज्यको कमजोर ईच्छाशक्ति, साधन श्रोतको अभाव, उत्तरदायित्व बाेधको अभाव, आफ्ना नीति योजना र अभियानको प्रभावकारि कार्यान्वयनमा शिथिलता जस्ता कारणहरुले गर्दा अपाङ्गता भएका व्यक्तिहरुमाथिको दृष्टिकोणमा खासै परिवर्तन आउन सकेको छैन । यसका लागि लोकतान्त्रिक प्रणाली अबलम्बन गरेका छौँ भन्ने राजनितिक दलहरुले गम्भिर हुँदै अपाङ्ग भएका व्यक्तिहरुप्रतिको सामाजिक धारणा वदल्न र राज्यलाई उत्तरदायी वनाउन विशेष पहल गर्नुपर्दछ ।आम सम्बद्ध संगठित संस्थाहरु, नागरिक समाज, वुद्धीजिवि लगायत हामी सम्पूर्ण नेपाली नागरिकहरु अन्तराष्ट्रिय कानुन र राष्ट्रिय कानुनमा व्यवस्था गरिएका हक अधिकारबाट नेपाली अपाङ्गता भएका व्यक्तिहरु बञ्चित नहुन् भन्नेमा सचेत र संयम हुनुपर्दछ । अपाङ्गता भएका व्यक्तिहरुविचमा भएको विभेदमा संवेदनशिल बन्नुपर्छ । साङ्ग र अपाङ्गता भएका सबै नागरिकको मानव अधिकारप्रति सचेत हुदै असल नागरिकको पहिचान दिनुपर्दछ ।
प्रकाशित मिति २०७७ असोज ६ गते मंगलबार ०८:१६




