पोखरा ।
सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताएका छन् ।
एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले २०८० को दशकलाई आर्थिक सुधारको प्रारम्भिक बिन्दुका रूपमा लिएपनि नीतिगत बहस आर्थिक वृद्धिमा मात्र सिमित भएको बताए ।
उनले उत्पादन र आर्थिक वृद्धि तत्कालिन अवस्थामा महत्वपूर्ण विषय भएको कारण समेत त्यससँग जोडिएका अन्य महत्वपूर्ण विषयमा पर्याप्त ध्यान दिन नसकिएको उनको बुझाइ छ ।
उनले आर्थिक वृद्धिसँगै वितरण र पुनर्वितरणको विषयमा अहिले पनि स्पष्ट धारणा बनाउन नसकिएको तर्क गरे । उनले औद्योगिक रूपान्तरणसम्बन्धी परम्परागत दृष्टिकोणलाई नीति मन्त्रझैँ अंगिकार गरिएको पनि उल्लेख गरे ।
उनले भने, ‘हामीले ८० को दशकलाई आर्थिक सुधारको प्रथम बिन्दु मान्ने हो भने सम्भवतः पहिलो पुस्ताको सुधारको दशक पनि त्यही थियो । तर त्यतिबेलाका बहस र डायलगहरु हेर्ने हो भने हामी ग्रोथतिर मात्र अल्झियौँ । तर त्यतिबेला उत्पादन वृद्धि महत्वपूर्ण विषय भएको कारण हामी अल्झिनै पर्ने अवस्था पनि थियो । तर त्योसँग जोडिएका महत्वपूर्ण विषयवस्तुमा पर्याप्त ध्यान दिन सकेनौँ कि जस्तो लाग्छ । त्योसँग जोडिएको महत्वपूर्ण कुरा वितरण थियो । हामीले वितरण र पुनर्वितरणको विषयमा अहिले पनि हामी स्पष्ट भइसकेका छैनौँ । एउटा इन्डस्ट्रीको ट्रान्जिसनको कन्भेसनल एप्रोचलाई हामीले मुलमन्त्र जस्तो मान्यौँ । एग्रिकल्चरबाट इन्डस्ट्री, इन्डस्ट्रीबाट सर्भिस भन्यौँ । तर यो विषयमा हामीले त्यत्रो छलफल पनि गरेनौँ ।’
उनले आर्थिक सुधारको वर्षौँसम्मको बहसमा हसमा संरचनात्मक रूपान्तरण र आय वितरणको स्पष्ट खाका तयार हुन बताए ।
प्रकाशित मिति २०८२ फागुन २ गते शनिबार ११:४७




