पोखरा ।
महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदैछ ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहानैदेखि चहलपहल बढेको छ ।
बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको छ । दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाखभन्दा धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्र आसपासमा गाडीको आवागमनमा विशेष व्यवस्थापन गरिएकोछ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ ।
पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन अवस्थामा गाडीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ ।
कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ ।
यसैबीच काठमाण्डौ प्रहरीले महाशिवरात्रि पर्वको दिन आज गरगहना लगाएर पशुपतिनाथको दर्शनमा नजान भक्तजनलाई अनुरोध गरेको छ ।
विभिन्न १३ बुँदे अनुरोधमार्फत प्रहरीले भक्तजनलाई सचेत गराएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चोरी तथा लुटपाटका घटना हुनसक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर मन्दिरको दर्शनका लागि नआउन अनुरोध गरिएको बताएका छन् ।
प्रकाशित मिति २०८२ फागुन ३ गते आइतबार ११:४२




