पोखरा ।
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
सहकारीले बिहिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोकमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको हो।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मधुसुदन अधिकारीले शिविरले मुखका रोग न्यूनीकरण गर्न र स्थानीय समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष याम बहादुर हमालले मुखको स्वास्थ्य समग्र शरीरकै दर्पण भएको तर धेरै मानिसहरूले चेतना र पहुँचको अभावमा आफ्नो दाँतको समस्या लुकाएर राख्ने गरेका बताए । मुखको स्वास्थ्य महत्वपूर्ण भएकाले समयमा नै उपचार गर्नुपर्ने उनले बताए ।
निट डेन्टल केयर, महेन्द्रपुलको प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । निट डेन्टलका प्रबन्ध निर्देशक बिरेन रानामगरले शिविरमा आएका दन्त रोगीहरुमा प्रायः गिजा पाक्ने, गिजा सुनिने, दाँत टुक्रा परेका समस्याहरु देखा परेको बताए ।
सहकारीका अध्यक्ष राजाराम शाहीले गाउँघरमै विशेषज्ञ सेवा र्पुयाउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा दाँत तथा मुख सम्बन्धी विभिन्न समस्याहरूको निःशुल्क परीक्षण र परामर्श प्रदान गरिएको जानकारी दिए ।
शिविर सयोंजक ज्योती हमालले शिविरमा १५३ जनाले सेवा लिएको जानकारी दिईन् ।
प्रकाशित मिति २०८२ फागुन ८ गते शुक्रबार ०१:५१




