पोखरा ।
पोखराको मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्य तीव्र गतिमा अघि बढेको छ ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत सञ्चालनमा रहेको “पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना” मार्फत तीन वर्षदेखि जारी काम हाल महत्वपूर्ण चरणमा पुगेको हो ।
आयोजनाअन्तर्गत कुँडहर सब–स्टेशनदेखि सेती पुलसम्मको क्षेत्रमा भूमिगत लाइन विस्तारको काम सम्पन्न भएको छ भने अन्य स्थानमा भूमिगत गर्ने कार्य जारी छ ।
अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट पृथ्वीचोक, सृजनाचोक, रत्नचोक, राष्ट्र बैंक चोक, सहिद चोक, लेकसाइड, हल्लनचोक हुँदै बुलौदी र जिरो किलोमिटरसम्म तार जमिनमुनि गाड्ने काम भइरहेको आयोजना प्रमुख आनन्द सुवेदीले जानकारी दिए ।
उनका अनुसार हालसम्म करिब झण्डै ६८ प्रतिशत प्रगति हासिल भएको छ । कुँडहर सबस्टेसनबाट सुरु गरिएको परियोजनाले सेती पुलसम्म लाइन विस्तार गरिसकेको छ भने न्यूरोड क्षेत्रमा अहिले काम सुरु भएको छ ।
आयोजनाको म्याद आगामी जुन ३१ सम्म रहेको र निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सन् २०२२ मा सुरु गरिएको परियोजनामा प्रारम्भिक चरणमा डिजाइन र भूगर्भीय अध्ययनमा समय लागेकाले निर्माण कार्य ढिलो सुरु भएको थियो ।
‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि प्रयोग गरी सडक कम क्षति हुने गरी तार बिछ्याइएको छ ।

पोखरामा करिब २३ किलोमिटर क्षेत्रमा विद्युत् तार भूमिगत हुने छ । रु १ अर्ब ७० करोड लागतमा टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता भएको छ ।
यसै परियोजनाअन्तर्गत भरतपुरमा पनि काम भइरहेको छ । परियोजना सम्पन्न भएपछि अव्यवस्थित तार र पोल हट्ने, सहरी सौन्दर्य वृद्धि हुने तथा विद्युत् आपूर्ति थप सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति २०८२ फागुन ९ गते शनिबार ०१:५१




