२०८३ साउन २१ गते बिहीबार

प्रिय बालेन दाई, झिक्कै झिक्कै माया तमलाई पनि

प्रिय बालेन दाई, झिक्कै झिक्कै माया तमलाई पनि

बबिता भुसाल

@Public 4K Tv

२०८२ फागुन २४ गते आइतबार ०३:२१

जुन जोगी आए पनि कानै चिरेका भन्ने यो पुरानैदेखि चलिआएको उखान भोलिका दिनमा हामीहरुले पनि हाम्रा छोरीलाई सुनाउनु नपरोस्। यसरी परिवर्तन भएको थियो नेपाल भनेर एउटा जोसिलो उदाहरण दिन पाइयोस् इतिहासमा नै एउटा यस्तो नाम रचियोस् जुन आउने पिढीहरूलाई पनि प्रेरणाको स्रोत बनोस्।

प्रिय बालेन दाई,

सर्वप्रथम त विजयी हुनुभएकोमा बालेन दाइ लगायत सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरूलाई हार्दिक बधाई ।

देशमा सफल र शानदार निर्वाचन भयो एकदमै खुसीको कुरा हो । देशले नयाँ जोश नयाँ विचार नयाँ पद्धति खोजिरहेको बेला हामीले असल युवा लिडर चुन्न पायौं नयाँ मत नयाँ विचार रोज्न पायौं यो झनै खुसीको कुरा हो। यो विजय हामी सबै नेपालीहरूको विजय हो । मनमा निभेको आशाको दियो फेरि आज झलमल्ल बलेको छ। आज मन एकदमै हर्षित छ। हामीले जे चाहेका थियौं त्यही भयो। विजयको समाचारहरू आइरहँदा मन फुरुङ्ग भइरहेको छ एक मनले भनिरहेको छ अब नेपालले बिस्तारै मुहार फेर्नेछ। आजसम्म हामीले असल नेतृत्व गर्ने नेता चुन्न नसकेर नै दुःख पाएका हौं अब हामी नेपाली सबैको दुःखका दिन बिस्तारै हराउनेछन्।

गास बास कपास शिक्षा स्वास्थ्य खानेपानी ठाउँ अनुसारको आवश्यकता र विकास पक्कै हुनेछ। राम्रो पढ्न सकियो भने देशमा राम्रो गर्न सकिन्छ भन्नु भन्दा पनि राम्रो पढाइ भयो भने राम्रो देश जान सकिन्छ भन्ने सोच दिनप्रतिदिन बढिरहेको छ। हातमा सर्टिफिकेट लिएर कन्सल्टटेन्सी र मेनपावर भौतारिएका युवाहरूको देशमा नै रोजगारको गन्तव्य मिल्नेछ। देशमा पढेर केही छैन भनेर १० कक्षा सकेपछि पढ्नका लागि भर्ना नगरिकन कहाँ जाने कुन देशको भाषा सिक्ने भनेर हुर्किँदै गरेको कलिलो जमात निकै दुविधामा भड्किरहेको छ। विदेशको भिजा नआएर डिप्रेसनमा जाने, आत्महत्या गर्ने प्रवृति समेत दिनप्रतिदिन बढिरहेको छ। आज नेपालको विश्वविद्यालयहरू दिनप्रतिदिन रित्तिरहेका छन्। बल बुद्धि जोस जाँगर सबै अर्काको देशमा सस्तो मूल्यमा साटिरहनु परेको छ।

कृषिप्रधान देशका नागरिक हामी बिहान उठेदेखि बेलुकासम्म अन्य देशहरूले प्याकेजिङ गरेर पठाएका खानेकुरामा निर्भर छौँ। महँगो बोर्डिङमा पढाए मात्र छोराछोरीको उज्ज्वल भविष्य छ भन्ने बुझाई र एकपछि अर्को प्रतिस्पर्धाले गर्दा नजिकैका गाउँहरू सबै रित्याई बजारमा डेरा खोजेर खर्चिलो जीवनयापन गर्न बाध्य भइरहेका छन् । हाम्रै जङ्गलहरूमा हाम्रै पाखाहरूमा हजारौँ जडीबुटीहरू न हामीले पहिचान गर्न सकेका छौं न कुनै मूल्य नै पाएका छौँ नचिनेरै कुहिएर र खुट्टाले मिचेर खेर फालिरहेका छौं। हो हामीसँग समस्या पनि धेरै छन् र सम्भावना पनि धेरै छन् किनकि नेपाल आफै यावत कुरामा भरिपूर्ण छ। हामीसँग यस्ता धेरै कुराहरू छन् कि जुन कुराले म नेपाली हुँ भन्दा निकै गौरवान्वित बनाउँछ। तर आज हामी हरेक कुरामा निकै पछाडि छौँ, यी कुराले एकदमै मन भक्कानिएर आउँछ।

यसो भन्दै गर्दा बालेन दाई तपाईँहरु सँग त्यस्तो जादु छ जुन कि तपाईंले दुई दिनमै कायपलट गरेर देखाउन सक्नुहुन्छ भन्न खोजेको पनि होइन। के राम्रो के नराम्रो? कति राम्रो कति नराम्रो सबै कुरा मूल्याङ्कन त हुने नै छ केही राम्रो गर्न खोज्दा कहीँ नराम्रो होला त्यो अवश्य जनताले पनि बुझ्नेछन् जनताले परिवर्तन चाहेर र त्यो क्षमता तपाईँहरूमा देखेर यसरी उर्लिएको हो। युवाको लहर त छँदै थियो । हाम्रा बुवाआमा हरुले पनि आफ्ना छोराछोरीको भविष्य र देशप्रतिको माया ले विक्षिप्त भई आफ्नो विचार बदलेर मत बदल्ने हैसियत राख्न सक्नुभयो यो अत्यन्त खुसीको कुरा हो ।

चाहेको र सोचेजस्तो नेपाल तपाईँहरूले बनाउन सक्नुहुन्छ भन्ने आशा राखेका छन्। जनता सधैँ स्वतन्त्र छन्, जनताले अहिले पनि पार्टी हेरेका होइनन् देशमा अब चाहिँ केही गर्न सक्ने क्षमतावान र शिक्षित वर्ग चाहिन्छ भनेर चुनेका हुन् यसको अर्थ त हजुरहरुले पनि बुझिसक्नुभएको छ। हिजो आज र भोलिमा निकै फरक हुनेछ। हिजो तपाईँहरूकै चाहा थियो जसरी पनि तपाईँहरू आउनुपर्छ भन्ने एउटा सोच थियो आज चारैतिर विजय भएको समाचार सुन्न पाउँदा हामी सबै खुसी छौँ सामाजिक सञ्जालमा हजुरहरू नाच्दै गरेका र झुम्मिएको जमात देखेर निकै आनन्द आएको छ र कुरा आयो भोलिको ।

भोलिबाट नै सिङ्गो नेपालको जिम्मेवारी हजुरहरूको काँधमा आउनेछ। दुःखी, गरिब, असाय, बेरोजगार हरुले तपाईँहरूकै मुखमा टुलुटुलु हेरिरहेका हुनेछन्। खुट्टा तान्नेहरू र अब्जस दिनेहरू पनि उत्तिकै जुट्नेछन्। टुटाउन फुटाउन अवसरमा जुट्न खोज्नेहरू धेरै आउनेछन्। कुनै कुरामा पनि नडगमगाइकन जनताको साथ र समर्थनलाई सम्झिएर राष्ट्रलाई र जनतालाई प्राथमिकता दिएर मात्र अरु कुरा सोच्नुपर्नेछ। ता कि फेरि पनि जनताले भनुन् गरेरै भ्याएन फेरि पनि हामीले बालेनलाई नै जिताउनुपर्छ। जुन जोगी आए पनि कानै चिरेका भन्ने यो पुरानैदेखि चलिआएको उखान भोलिका दिनमा हामीहरुले पनि हाम्रा छोरीलाई सुनाउनु नपरोस्। यसरी परिवर्तन भएको थियो नेपाल भनेर एउटा जोसिलो उदाहरण दिन पाइयोस् इतिहासमा नै एउटा यस्तो नाम रचियोस् जुन आउने पिढीहरूलाई पनि प्रेरणाको स्रोत बनोस्।

अन्तमा, यति लेखिरहँदा पनि मन भक्कानिरहेको छ। हजुरहरूलाई अब जनताले देशको जिम्मेवारी सुम्पिसकेका छन्। हजुर धेरै विवेकशील शिक्षित शक्तिशाली र निडर एउटा राम्रो इतिहास रच्न सक्ने महान व्यक्तित्व हुनुहुन्छ यसमा कुनै दुविधा छैन। भोलिका दिनहरूमा पनि जस्तो बोली त्यस्तै काम गर्नुहुन्छ भन्ने पूर्ण विश्वास बोकेका छन् नेपाली जनताले अनि मैले पनि ।

जय देश
जय घण्टी
जय बालेन (झिक्कै झिक्कै माया तमलाई पनि)

✍ अपरिचित बबिता

प्रकाशित मिति २०८२ फागुन २४ गते आइतबार ०३:२१
हजुरको प्रतिक्रिया