पोखरा ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्ने भएको छ । दे्शभित्र सञ्चालनमा रहेका वस्तु, उत्पादन तथा सेवा प्रदान गर्ने सबै प्रतिष्ठान, व्यवसायमा पुगी विवरण सङ्कलन का लागि बैशाख २ गते देखि असार ३ गतेसम्म राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने तथ्यांक कार्यालयले जानकारी दिएको छ ।
पोखरामा जिल्ला आर्थिक गणना कार्यालय कास्कीले आज एक कार्यक्रमको आयोजना गरि आर्थिक गणनाको लागि तयारी भैरहेको जानकारी दिएको छ । कास्की जिल्लामा १०० भन्दा बढि गणक तथा सुपरिवेक्षक खटिने जिल्ला आर्थिक गणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए ।
२०७५ सालमा पहिलो पटक गरिएको आर्थिक गणनामा पोखरा महानगरपालिकामा २८ हजार २१५, मादी गाउँपालिकामा ३६५, रुपा गाउँपालिकामा २९२, माछापुच्छेमा ६२५, र अन्नपूर्णमा १२५१ वटा व्यवसायिक संस्था तथा प्रतिष्ठान समावेश थिए ।
राष्ट्रिय आर्थिक गणना २०८२ को मुख्य उद्देश्य मुलुकभित्र सञ्चालनमा रहेका आर्थिक क्रियाकलापहरूको विस्तृत तथ्य संकलन गर्नु, उत्पादन र सेवासम्बन्धी विवरण तयार गर्नु तथा भविष्यका योजना निर्माणका लागि आधार तयार गर्नु रहेको जनाइएको छ।
साथै, यसले आर्थिक संरचना, रोजगारीको अवस्था, उत्पादनको प्रवृत्ति लगायत विषयमा महत्वपूर्ण जानकारी उपलब्ध गराउनेछ।
यस गणनाअन्तर्गत औद्योगिक, व्यापारिक, कृषि, सेवा तथा अन्य क्षेत्रका साना–ठूला सबै प्रकारका प्रतिष्ठान समेटिनेछन्।
होटल, पसल, उद्योग, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्था, निर्माण व्यवसाय, सूचना प्रविधि, यातायात सेवा, सुरक्षा सेवा लगायतका विभिन्न क्षेत्रमा संलग्न व्यवसायहरूको विवरण संकलन गरिनेछ।
आर्थिक गणनामा सङ्कलित विवरणहरु पूर्ण रुपमा गोप्य रहने कार्यालयले स्पष्ट पारेको छ । राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन सम्बन्धित सबै व्यवसायी तथा सरोकारवालालाई सहयोग गर्न सरकारले आग्रह गरेको छ ।
प्रकाशित मिति २०८२ चैत १० गते मंगलबार ०२:४५




