बैशाखमा एकता महाधिवेसन, चुनाव चिन्ह हलो
काठमाडौँ । झण्डै ६ महिनाअघि पार्टी एकता गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले एकीकृत पार्टीको चुनाव चिन्ह ‘हलो’ कामय रहनेगरी विवाद टुंग्याएका छन् । यसघि ‘हलो कि गाई’ ? भन्नेमा चर्को विवाद रहँदै आएको थियो ।
अध्यक्ष कमल थापाले आफ्नो ट्वीटरमा चुनाव चिन्हमा सहमति भएको सार्वजनिक गरेका छन् । ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह हो । तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी र शुभचिन्तकहरुमा अपिल गर्दछ,’ थापाले भनेका छन् । थापाले हिन्दु राष्ट्र बोकेको राप्रपाका लागि गाई नै उपयुक्त चुनाव चिन्ह भएपनि पार्टी एकता जोगाउन हलोमा सहमत भएको प्रष्टिकरण पनि दिएका छन् ।
यसअघि कमल थापा गाई र राणा तथा लोहनीपक्ष हलोको अडानमा रहेका थिए । जसले गर्दा एकीकृत पार्टी लामो समयसम्म निर्वाचन आयोगमा दर्ता हुन नै सकेको थिएन ।
अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीबीच आइतबार भएको छलफलले चुनाव चिन्ह हलो राख्ने सहमती जुटेपछि सोमबार र मंगलबार बैठक राखेर विवाद टुग्याउने तयारी भएको राप्रपा कार्यसम्पादन समितिका सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।
आगामी बैशाखमा महाधिवेसन गर्न समेत नेताहरुबीच सहमति जुटेको छ । त्यस्तै चुनाव चिन्ह हलो र पार्टीको झण्डा गाई अंकित राप्रपाको झण्डा कायम गर्ने सहमति भएको छ ।
प्रकाशित मिति २०७७ असोज ६ गते मंगलबार ०१:२३




