२०८३ साउन २१ गते बिहीबार

भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको तयारी अन्तिम चरणमा

भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको तयारी अन्तिम चरणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख १६ गते बुधबार १२:५०

पोखरा ।   मानवसेवा आश्रम कास्की शाखाले मानवता प्रवद्र्धन तथा निर्माणाधीन पूर्वाधार सम्पन्न गर्न आयोजना गर्ने श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । आश्रमले बुधबार पत्रकार सम्मेलनको आयोजना...

पोखरा ।   मानवसेवा आश्रम कास्की शाखाले मानवता प्रवद्र्धन तथा निर्माणाधीन पूर्वाधार सम्पन्न गर्न आयोजना गर्ने श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

आश्रमले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले वैशाख १९ गतेदेखि २६ गतेसम्म महायज्ञ सञ्चालन गरिने जानकारी दिए ।

उक्त महायज्ञमा भागवत् भाष्कर कमल नयन गौतमले कथा वाचन गर्नेछन् । कास्की शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नु, लक्ष्मी–नारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा आश्रम (धर्मशाला) निर्माण तथा अक्षयकोष अभिवृद्धि गर्नु महायज्ञको उद्देय रहेको अधिकारीले बताए ।

आश्रमका अनुसार २०६९ सालदेखि हेटौंडाबाट सुरु भएको सेवा हाल देशका सातै प्रदेशका २२ जिल्लामा बिस्तार भइसकेको छ ।

२९ वटा सेवा केन्द्रमार्फत करिब २१०० जना सहयोगापेक्षी तथा सडकआश्रित नागरिकलाई आश्रय दिइँदै आएको छ ।

पोखरा सेवा केन्द्रमा मात्र करिब २७५ जना आश्रित रहेका छन् ।

केन्द्रीय अध्यक्ष अधिकारीका अनुसार आश्रमले सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका नागरिकहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा निरन्तर काम गर्दै आएको छ । साथै, २०८३ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिइएको उनले बताए ।

महायज्ञ अन्तर्गत वैशाख १९ गते बिहान शोभायात्रासहित उद्घाटन गरिनेछ। त्यसपछिका दिनहरूमा योग शिविर, निःशुल्क स्वास्थ्य शिविर तथा विद्यालयस्तरमा मानसिक व्यवस्थापन र मानवता सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सह–संयोजक शाहीले जानकारी दिए ।

त्यसैगरी, प्रत्येक दिन श्रीमद् भागवत कथा वाचन, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ । कार्यक्रममा दाताहरूलाई सम्मान गर्ने कार्यक्रमसमेत रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८३ वैशाख १६ गते बुधबार १२:५०

हजुरको प्रतिक्रिया