पोखरा ।
गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित भएका छन् ।
पोखरामा आइतबार भएको संघको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पूनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल, कोषाध्यक्षमा गंगाबहादुर गुरुङ चयन भएका छन् ।
त्यस्तै संघको सदस्यहरुमा इन्द्रमान खत्री, विकल्प बोगटी, दीक्षा गुरुङ, हरिराम सापकोटा, कुलबहादुर तामाङ (दोर्जे), योगराज अधिकारी, शिवराज वाग्ले, रेखमाया गुरुङ, कृष्ण महर्जन, माइकल कर्मचार्य, सुरज ढकाल र रमिला गुरुङ निर्वाचित भएका छन् ।
निर्वाचन समितिले तोकिएको संख्यामा मात्र उम्मेदवारी दर्ता भएको र विधान बमोजिम निर्वाचन गर्नुपर्ने पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित घोषणा गरेको हो ।
संघका उपाध्यक्ष रमेश पौडेलका अनुसार थप उपाध्यक्ष र महासचिव अध्यक्षले पछि चयन गर्नेछन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष गुरुङले तेक्वान्दो खेलको विकास र विस्तारका लागि अझ सक्रिय भएर लाग्ने बताए ।
अधिवेशनमा संघका महासचिव रमेश पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष माइकल कर्माचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका सल्लाहकार प्रकाशशम्शेर राणा, अर्का सल्लाहकार हरिश्वर पोख्रेल, केन्द्रीय सदस्य मदन केसी लगायतले तेक्वान्दो खेलको बारेमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
सो अवसरमा तेक्वान्दो संघका लागि पुर्याएको योगदानस्वरुप होटल व्यवसायी कुलबहादुर तामाङ (दोर्जे)लाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति २०८३ वैशाख २० गते आइतबार ०४:३३




