पोखरा ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजना अन्तर्गत दमौली बजार नजिकको मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं. ४ र ५ जोड्ने पुल निर्माणको कार्यलाई तीव्र पारिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । योजना कार्यालयका अनुसार अब करिब १७ प्रतिशत काम मात्र बाँकी रहेको छ । इन्जिनियर तथा सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार पुल निर्माणको मुख्य संरचनात्मक काम अन्तिम चरणमा पुगेको छ । अहिले आर्क स्पान र फिनिसिङका काम तीव्र रूपमा भइरहेको उनले बताए । २०७९ साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भई सुरु भएको पुलको निर्माण म्याद सकिएपछि आगामी असार २९ गतेसम्म म्याद थप गरिएको छ ।
तीन सय १५ मिटर लामो र २३ मिटर चौडाइको यो पुल नेपालमै पहिलो मोनोलेथिक स्ट्रक्चरमा आधारित चार लेनको पुल हो । पुलमा कुल छ वटा स्पान रहनेछन् । वारिपारिका चार स्पानको काम सकिएको छ भने बीचका दुईवटा करिब ६३ मिटरका आर्क स्पानमा काम भइरहेको छ ।
एक अर्ब २१ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको वित्तीय प्रगति ८१ प्रतिशत रहेको छ । मादी नदी माथिको यो पुल पृथ्वी राजमार्गकै सबैभन्दा लामो आर्क डिजाइनको पुल भएको आयोजना कार्यालयले जानकारी दिएको छ । हाल सञ्चालनमा रहेको पुरानो दुई लेनको पुलभन्दा करिब ५० मिटर टाढा नयाँ पुल निर्माण भइरहेको हो ।
प्रकाशित मिति २०८३ वैशाख २३ गते बुधबार ०३:१७




