नेपाल विद्यार्थी संघका नि:वर्तमान अध्यक्ष दुजाङ शेर्पाले सरकारले रानजनीतिक दलहरुले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारीहरु खराब हुन् भन्ने भाष्य बनाउन खोजेको टिप्पणी गरेका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र साहले विगतका सरकारले गरेको सबै राजनीतिक नियुक्तिहरुको बद्नाम गर्नेगरी भाष्य निर्माण गर्नै खोजेको आरोप लगाए ।
विगतका सरकारले नियुक्त गरेका सबै पदाधिकारीहरूलाई ‘ब्रिफकेस बुझाएर आएका’ भन्ने सन्देश फैलाउन खोजिएको उनको जिकिर छ । उनले प्रधानमन्त्रीको क्याबिनेटमा रहेका अर्थमन्त्री डा।स्वर्णिम वाग्लेलाई कति रकम बुझाएर योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो भन्दै प्रश्न समेत गरे ।
उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र साहले रानजनीतिक दलहरुले नियुक्त गरेका सबै व्यक्तिहरु र पदाधिकारीहरु खराब हुन् भन्ने भाष्य बनाउन खोजिरहनुभएको छ । यिनीहरु सबै ब्रिफ केस बुझाएर नियुक्ति खाएका हुन् भन्ने भाष्य अहिले निर्माण गर्न खोजिएको छ । प्रधानमन्त्रीज्युको क्याबिनेटको अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुहुन्छ । अब उहाँले भनिदिनुप¥यो कति करोड बुझाएर तपाईं हिजो योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो र हिजो नेपाली काँग्रेसले उहाँलाई विश्वास गरेर विज्ञताको आधारमा नियुक्त गरेको हो नि ।’
उनले विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिवादको लागि तयार रहन आग्रह समेत गरे ।
प्रकाशित मिति २०८३ वैशाख २४ गते बिहीबार १०:२३




