२०८३ साउन २१ गते बिहीबार

मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियान सुरु

मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियान सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १ गते शुक्रबार १२:५८

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पृथ्वी होटल व्यवसायी समिति पोखराले “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” भन्ने मूल नारासहित मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ। समितिले मध्यपहाडी...

पोखरा ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पृथ्वी होटल व्यवसायी समिति पोखराले “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” भन्ने मूल नारासहित मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ। समितिले मध्यपहाडी लोकमार्गसँग जोडिएका विभिन्न जिल्लामा पुगेर पर्यटन व्यवसायी, स्थानीय तह, सरोकारवाला निकाय तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने जनाएको छ। आन्तरिक पर्यटकको आवागमन बढाउने, स्थानीय होटल व्यवसायलाई चलायमान बनाउने तथा सांस्कृतिक एवं पर्यटकीय सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।

पोखरा आन्तरिक पर्यटन प्रवद्र्धन अन्तर्गत “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” कार्यक्रमको दोस्रो संस्करण स्वरूप सञ्चालन गरिएको अभियान जेठ १ गतेदेखि ४ गतेसम्म मध्यपहाडी राजमार्ग अन्तर्गत बाग्लुङ बजार, बुर्तिवाङ, रुकुमकोट र मुसिकोटमा आयोजना हुने भएको छ। कार्यक्रमका लागि २६ सदस्यीय टोली बिहीबार बाग्लुङ हुँदै रुकुमतर्फ प्रस्थान गरेको छ।

टोलीलाई पोखराबाट विदाइ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय का प्रमुख मणिराज लामिछानेले यस्ता अभियानले आन्तरिक पर्यटन चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले पोखरालाई केन्द्र बनाएर सञ्चालन गरिने पर्यटन प्रवद्र्धन कार्यक्रमले गण्डकी प्रदेशसहित मध्यपहाडी क्षेत्रका अन्य जिल्लालाई समेत लाभ पुग्ने उल्लेख गरे।

कार्यक्रमअन्तर्गत पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका विषयमा विशेष छलफल गरिने आयोजकले जनाएको छ। साथै लोकमार्ग आसपासका पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति, मौलिक खानपान र होटल व्यवसायको प्रवद्र्धनमा केन्द्रित गतिविधि सञ्चालन गरिने बताइएको छ।

समितिका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मध्यपहाडी लोकमार्ग क्षेत्र प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेकाले यस्ता कार्यक्रमले ओझेलमा परेका गन्तव्यलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य बढाएर पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने लक्ष्य रहेको बताए।

प्रकाशित मिति २०८३ जेठ १ गते शुक्रबार १२:५८
हजुरको प्रतिक्रिया