२०८३ असोज २३ गते शुक्रबार

रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति कमजोर भयो, ग्रिन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गरौँः सांसदहरू

रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति कमजोर भयो, ग्रिन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गरौँः सांसदहरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १ गते शुक्रबार ०५:४०

बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका हुन् ।

पोखरा ।

प्रतिनिधि सभाका सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर हुँदै गएको भन्दै ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।

रासायनिक मलको प्रयोगका कारण उत्पादन घट्दै गएको तथा जनस्वास्थ्यमा समेत गम्भीर असर परिरहेको भन्दै रासयनिक मलको विकल्पमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले विद्युत प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताए ।

उनले किसानहरू मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्न कृषि मन्त्रालयले प्रभावकारी रुपमा काम गर्नुपर्ने समेत बताए ।  सांसद खनालले इजरायलको उदाहरण दिँदै नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताए ।

उनले भने, ‘विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने कुरा गर्नुपर्छ । आज माटोमा खेलेर हाम्रो भोक मेटाइरहेका नागरिकहरुले मलको माग गर्दै सिंहदरबार आउनुपर्ने आवश्यकता छ । आज उनीहरुको पक्षमा बोल्ने सरकार आएको छ । तर यसका लागि कृषि मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ । बालुवा मात्रै भएको इजरायले सुन फलाउनसक्छ भने हामी पहाड, हिमाल र तराई भएको देशका नागरिक हौँ हामीले के फलाउन सक्दैनौँ ? त्यसकारण यसतर्फ लागौँ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले हरेक वर्ष दोहोरिने मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्ने बताए । उनले मल आपूर्तिलाई सहज बनाउन स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

उनले किसानको समस्या हल गर्दै कृषि पेशालाई सम्मानित बनाएर युवा पलायन रोक्न आवश्यक रहेको पनि बताए ।

उनले भने, ‘हरेक वर्ष मलको समस्याको विषय उठ्छ । यसको संकट मोचनको लागि के गर्ने त ? कुनै मल कारखाना बनाउने कि नबनाउने ? हामी अगाडि बढेनौँ भने हरेक वर्ष सिजनमा मल छैन भनेर बस्ने हो । यति धेरै राजनीतिक रुपमा मुलुकमा परिवर्त हुँदा पनि मलको समस्या हल भएन । त्यसकारण यो मलको समस्या हल गरौँ र कृषि पेशालाई सम्मानित गरेर युवा पलायन रोकौँ ।’

नेपाली काँग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरिन् । कृषकको लगानीका आधारमा सरकारले मल आपूर्ति सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।

सांसद सेन्दाङले बाँझो जमिन उपयोगमा ल्याउन सुकुम्बासी नागरिकलाई लिजमा जमीन उपलब्ध गराउने नीति ल्याउन समेत सरकारलाई सुझाव दिइन् । विदेशमा रहेका युवालाई समेत कृषि र बाँझो जमिनसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘अहिले तत्कालको लागि किसानलाई रासायनिक मलको आपूर्ति गरिदिनुपर्छ । कृषकले गरेको लगानीका आधारमा उनीहरुलाई आवश्यक पर्ने मल सरकारले उपलब्ध गराउनुपर्यो । अहिले सुकुम्बासीको कुरा आएको छ । सरकारले बाँझो जमिनमा सुकुम्बासी नागरिकलाई लिजमा दिएर हुन्छ कि के गरेर हुन्छ बिना लगानी काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । विदेशमबाट युवाहरुलाई समेत बाँझो जमिनसँग जोड्नुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रकाशित मिति २०८३ जेठ १ गते शुक्रबार ०५:४०
हजुरको प्रतिक्रिया