पोखरा ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा उनले आज आर्थिक वर्ष २०८३÷८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो ।
चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो ।
जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो ।
यस्तै वित्तिय व्यवस्थातर्फ रु ३ खर्ब ७५ अर्ब २४ करोड बराबरको व्यवस्था गरिएको थियो ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. वाग्लेले उत्पादनमुखि अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।
अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिवद्ध रहेको पनि बताए । उनले बजेटले राष्ट्रिय जीवनको सबै आयाममा रुपान्तरको उत्कृट प्रतिक्षालाई सम्बोधन गरेको दाबी पनि गरे ।
उनले भने,‘उत्पादनमुखि अर्थतन्त्र, अन्तराष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु । नेपालको राजनीतिमा उमेरको पुस्तान्तरण सँगसँगै राष्ट्रिय जीवनको सबै आयाममा रुपान्तरको उत्कृट प्रतिक्षा छ । यो अनुकूलतालाई आत्मासात गर्दै नीति, कानून, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिस्कारपूर्वक सुशासनमा मानक स्थापित गर्न हामी कटिवद्ध छौँ ।’
अर्थमन्त्री वाग्लेले सरकार नयाँ पुस्ताको भावना अनुसार अघि बढने पनि बताए ।
प्रकाशित मिति २०८३ जेठ १५ गते शुक्रबार ०५:१२




