पोखरा ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह सदनप्रति पूर्ण रूपमा उत्तरदायी रहेको स्पष्ट पारेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्री साहले आइतबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिइसकेको र आवश्यकता परे पुनः संसदमा उपस्थित भएर थप स्पष्ट पार्न तयार रहेको बताए । मन्त्री पोखरेलले नेपाल–भारत सीमा विवाद दुई देशबीचको संवाद र कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने विषय भएको उल्लेख गरे ।
उनका अनुसार दुवै देशले सीमा समस्या वार्ता र आपसी समझदारीबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् र यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको छ। प्रधानमन्त्री साहले संसदमा ‘नेपालले भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति नदिएको पनि सरकारको दाबी छ। मन्त्री पोखरेलले प्रधानमन्त्रीले नेपाल–भारत सीमा अध्ययन गर्ने संयुक्त संयन्त्रको प्रतिवेदनमा उल्लेख भएका विषयबारे चर्चा गरेको र त्यसप्रति आफू आश्चर्यचकित भएको कुरा मात्र राखेको जिकिर गरे । सीमा विवाद समाधानका लागि कूटनीतिक नोट आदानप्रदान भइसकेको र बाँकी विषयहरू दुई देशबीचको वार्तामार्फत टुंग्याइने उनको भनाई छ ।
साथै, प्रधानमन्त्रीको अभिव्यक्तिलाई सही सन्दर्भमा बुझ्न सदनमा प्रधानमन्त्रीको भनाइ पुनः सुन्न पनि आग्रह गरे ।
प्रकाशित मिति २०८३ जेठ १९ गते मंगलबार ०१:३३




