पोखरा ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले विधेयक प्रमाणीकरण भएको जानकारी गराएका हु्न । जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई सभामुख डोलप्रसाद अर्यालले मंगलवारको बैठकमा पढेर सुनाए ।
मंगलबारकै बैठकमा प्रतिपक्षी दलहरुको विरोधका बीच सभामुख अर्यालले मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३, पनि प्रमाणीकरण भएको जानकारी गराए ।
उनले भने, ‘नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहायका विधेयकको सक्कली एक प्रति यसै पत्रसाथ संलग्न गरी पठाएको व्यहोरा अनुरोध छ । विधेयकको नामः प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ । प्रमाणीकरण भएको मिति, २०८३ जेठ १७ । मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३, प्रमाणाीकरण भएको मिति, २०८३ जेठ १७ ।’
प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमबार बस्नेगरी स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन् ।
बैठक शुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले विरोध जनाएका थिए ।
सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म संसद अघि बढ्न नदिने बताए ।
प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको भनि दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरुले संसदका दुवै सदनमा अवरोध गर्दै आएका छन् ।
प्रकाशित मिति २०८३ जेठ १९ गते मंगलबार ०४:५२




