घनश्याम पाण्डे
पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले आयोजना गरेको तीनदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको टोली शुक्रबार पोखराबाट प्रस्थान गरी तनहुँ, नवलपुर र स्याङ्जाका पर्यटकीय गन्तव्यको स्थलगत अध्ययन, अवलोकन तथा रिपोर्टिङ गर्दै पोखरा फर्किएको हो।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, अन्नपूर्ण क्षेत्रलगायतका विश्वप्रसिद्ध गन्तव्य अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसके पनि ग्रामीण क्षेत्रका अनेक सम्भावनायुक्त पर्यटकीय स्थल अझै प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए। प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस्ता क्षेत्रलाई पर्यटन बजारमा चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले अध्ययन भ्रमण आयोजना गरिएको उनको भनाइ छ।
भ्रमणका क्रममा टोलीले तनहुँको आँबुखैरेनीस्थित ऐना पहारा, नवलपुरको देवचुलीमा रहेको पिप्रहर सामुदायिक होमस्टेत्रिवेणी मोक्षधाम, स्याङ्जाको मिर्मी क्षेत्र, कालीगण्डकी नदी, सेतीवेणी तथा अर्जुनचौपारीस्थित नवग्रह मन्दिरलगायतका धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनसँग सम्बन्धित गन्तव्यको अवलोकन गरेको थियो स्थानीयवासी तथा पर्यटन व्यवसायसँग आबद्ध सरोकारवालाले पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार र प्रभावकारी प्रचारप्रसारको अभावले धेरै गन्तव्य पर्यटकको पहुँचबाट टाढा रहेको गुनासो गरे। उनीहरूले सडक, आवास, सूचना केन्द्रलगायतका आधारभूत पूर्वाधार विकाससँगै लक्षित प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरकार र नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने ऐना पहारामा बालबालिकादेखि युवासम्मलाई लक्षित साहसिक खेलका विविध गतिविधि सञ्चालनमा रहे पनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा यसको सम्भावनाअनुसार लाभ लिन नसकिएको स्थानीयको भनाइ छ। त्यस्तै, पिप्रहर सामुदायिक होमस्टेका सञ्चालकहरूले पनि प्रचारको अभावका कारण व्यवसायलाई अपेक्षित रूपमा विस्तार गर्न कठिनाइ भइरहेको बताएका छन्।
भारतको सीमावर्ती क्षेत्रमा अवस्थित त्रिवेणी मोक्षधामका अध्यक्ष एवं उत्तराधिकारी स्वामी श्रीकृष्णप्रपन्नाचार्यले धार्मिक महत्व बोकेको धाममा पूर्वाधार र प्रवद्र्धनको कमी रहेको बताए ।
।अध्ययन भ्रमणका क्रममा पत्रकार टोलीले स्याङ्जाको मिर्मी क्षेत्रमा कालीगण्डकी नदीमा सञ्चालनमा रहेको मोटरबोट सेवाको अनुभवसमेत लिएको थियो। स्थानीय हिमलाल पाण्डे र स्थानीय प्रेम बहादुर माझीका अनुसार मोटरबोट सञ्चालनसँगै नदी आसपासका बासिन्दाले प्रत्यक्ष आर्थिक लाभ लिन थालेका छन् भने पर्यटन गतिविधिले स्थानीय रोजगारीमा समेत टेवा पु¥याएको छ।
टोलीले अर्जुनचौपारीस्थित नवग्रह मन्दिरको पनि अवलोकन गरेको थियो। करिब डेढ वर्षअघि सञ्चालनमा आएको उक्त मन्दिरमा विशेषगरी शनिबार उल्लेख्य संख्यामा दर्शनार्थी पुग्ने गरेको मन्दिरका पुजारी तिलकप्रसाद देवकोटाले बताए। मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण पछिल्लो समय यहाँ आउने भक्तजनको संख्या बढ्दै गएको उनले जानकारी दिए।
यसैक्रममा टोलीले ‘२० हजार ताल’ क्षेत्रको समेत अवलोकन गरेको थियो। ताल क्षेत्रमा दुर्लभ वन्यजन्तु पाटे बाघसमेत देखिएको जानकारी दिँदै टोलीले जलकुम्भी झारले तालको ठूलो हिस्सा ढाकिएकाले यसको संरक्षण र व्यवस्थापनमा सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ। भ्रमण टोलीमा १२ जना पत्रकारका साथै पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम संयोजक युवराज गुरुङलगायतको सहभागिता रहेको थियो। पर्यटन क्षेत्रका जानकारहरू गण्डकी प्रदेशका कम परिचित गन्तव्यको प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पु¥याउन सकिने बताउँछन्।
प्रकाशित मिति २०८३ जेठ २६ गते मंगलबार १०:५३




