काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ ।
शनिवार सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने निष्कर्ष र संसदमा आफ्नो भुमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताए । महामन्त्री पौडेलले सरकारले गठनको सय दिनमा गरेका प्रतिवद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिए । उनले संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढंगले प्रश्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको बताए । प्रमुख प्रतिपक्षी दलको भुमिका कमजोर भएको भन्ने टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले काँग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दाबी गरे । उनले सरकारका गलत कार्यविरुद्ध संसदीय दलका नेता र सांसदहरूले सदनमा सक्रियताका साथ आवाज उठाइरहेको उल्लेख गर्दै सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन जनताले गर्ने बताए ।
पार्टीभित्रको आन्तरिक व्यवस्थापन र असन्तुष्टिका सन्दर्भमा महामन्त्री पौडेलले नेपाली काँग्रेस लामो इतिहास बोकेको पार्टी भएकाले यहाँ व्यक्ति व्यवस्थापनको चुनौती पुरानै रहेको स्वीकार गरे । उनले पार्टीमा कुनै नीतिगत विमति नरहेको स्पष्ट पार्दै व्यक्ति व्यवस्थापनका लागि स्पष्ट विधि आवश्यक रहेको बताए । यस्तै, सदस्यता वितरण र नवीकरणको काम पार्टीको नियमित प्रक्रिया भएको पनि उनले बताए ।
प्रकाशित मिति २०८३ असार ६ गते शनिबार ०३:०८




