भन्छन्ः ‘एमालेसँग एकताको कुनै सम्भावना छैन’
पोखरा ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीप्रति निष्ठा, समर्पण र विश्वास नभएका व्यक्तिहरूबाट सङ्गठन अघि बढ्न नसक्ने बताएका छन् ।
शनिबार पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीको अनुशासन र विचारलाई आत्मसात नगर्ने प्रवृत्तिले राजनीतिक विकासमा बाधा पुग्ने उल्लेख गरेका हुन् ।
सम्बोधनका क्रममा उनले नेताको बाहिरी स्वरूप वा अनुहारभन्दा उसले अँगाल्ने विचार र दिने सन्देश महत्वपूर्ण हुनेमा जोड दिए । नेता नेपालले पार्टीभित्रै रहेर सधैँ गुटबन्दी गर्ने, निराशा फैलाउने र झमेला मात्रै उत्पन्न गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।
उनले यस्ता नकारात्मक गतिविधि गर्नेहरूलाई सुक्ष्म रूपमा हेर्नुपर्ने र चिन्नुपर्ने आवश्यकता रहेको समेत औँल्याए ।
उनले भने, ‘जुन मानिसमा पार्टीप्रति निष्ठा छैन, समर्पण छैन र विश्वास छैन, त्यस्ता मानिसहरूले पार्टीलाई अगाडि बढाउन सक्दैनन् । म तपाईंहरूलाई फेरि जोड दिएर भन्न चाहन्छु–यो कुरा तपाईंहरूको दिमागमा राम्रोसँग बसोस्, नेताको अनुहारले मात्र हुँदैन । त्यो नेताले कस्तो विचार अँगालेको छ, कस्तो सन्देश दिने गरेको छ, ऊ सङ्गठित रहेको पार्टीको अनुशासनको पालना गर्छ कि गर्दैन, पार्टीले अगाडि सारेको विचारप्रति प्रतिवद्ध छ कि छैन, त्यसप्रति उसको विश्वास छ कि छैन, सङ्गठनलाई अघि बढाउन रचनात्मक तथा सकारात्मक भूमिका खेलिरहेको छ कि छैन, वा सधैँ गुटबन्दी गर्ने, निराशा फैलाउने र झमेला खडा गर्ने काममा मात्र लागेको छ । यी सबै कुराहरू पनि हेर्नु, बुझ्नु र मूल्याङ्कन गर्नु आवश्यक हुन्छ ।’
उनले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेता वामदेव गौतमको कार्यशैलीप्रति लक्षित गर्दै पार्टीको मूल विचारप्रति प्रतिवद्ध नभई सधैँभरि विवाद र गुटबन्दीमा अल्झिने नेताहरूले सङ्गठनलाई क्षति पु¥याउने बताए ।
यसका साथै नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले बाहिर आएका हल्लाहरूको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरे ।
समाचारमा आउने कतिपय विषयले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।
पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताए ।
राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबी समेत गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले सतहमा आएका समाचारकै भरमा भ्रममा नपर्न पनि उनले आग्रह गरे ।
उनले भने, ‘त्यसै हुनाले तपाईंहरू माथिका सतही कुरा हेरेर त्यसमा बग्ने होइन, भित्री अन्तर्विरोधहरू बुझ्न सक्नुपर्छ । सबै विषयका बारेमा जानकारी राख्नुपर्छ । समाचारमा कुनै कुरा आयो भने हामी त्यसैमा बग्ने गर्छौं । सुनियो कि एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्ने रहेछ । मलाई त फोनको जवाफ दिँदा–दिँदै हैरान भएको छु । तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन । एमालेसँग अहिले एकता सम्भव छ र ? सम्भवै छैन । त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस् । अहिले हाम्रो पार्टी जुन विचार र मान्यता लिएर अगाडि बढिरहेको छ, त्यसले अवश्य पनि देशमा रहेका सबै देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ, सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ । साथै, सबै लोकतान्त्रिक शक्तिहरू र गणतन्त्रका पक्षधर शक्तिहरूलाई पनि साथमा लिएर जानुपर्छ । किनभने देशको रक्षा गर्ने जिम्मेवारी, राष्ट्रहितको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । जनताको हितको पक्षमा उभिने दायित्व पनि हाम्रै हो । त्यसै हुनाले जनताको पक्षमा, राष्ट्रको पक्षमा, परिवर्तनको पक्षमा र रूपान्तरणको पक्षमा स्पष्ट सोचका साथ हामी अगाडि बढ्नुपर्छ । त्यसैका निम्ति हामीले ‘वैज्ञानिक समाजवाद’ र ‘नेपाली विशेषताको समाजवाद’ भन्ने गरेका छौँ । नेपालको आफ्नै विशेषता छ । यो बहुजातीय देश हो, बहुभाषिक देश हो । नेपालमा आफ्नै किसिमका संस्कृति र परम्पराहरू छन्। नेपाली जनताका आफ्नै गौरवशाली इतिहास छन् । नेपाल कहिल्यै पनि कुनै देशको उपनिवेश बनेन। त्यसैले हामी आफ्ना पुर्खाहरूप्रति गौरवबोध पनि गर्छौं ।’
नेता नेपालले आफ्ना पूर्खाहरूको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिहरूलाई एकै ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रकाशित मिति २०८३ असार ६ गते शनिबार ०५:१८




