काठमाडौं ।
शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
आईतवार कोक्यापले आयोजना गरेको मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्प भुसालले उक्त माग गरेका हुन् । उनले चुनौतीपूर्ण परिस्थितिका बावजुद पनि मानव अधिकार रक्षकहरूले लोकतन्त्र, जवाफदेहिता, विधिको शासन तथा मानव अधिकार संरक्षणमा महत्वपूर्ण र साहसिक भूमिका निर्वाह गरिरहेको बताए । मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्नु राज्य, नागरिक समाज र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी भएको उनको भनाई छ । भुसालले मानव अधिकार रक्षक संरक्षण नीति हालसम्म स्वीकृत हुन नसकेको बताउँदै तत्काल स्वीकृत गरी कार्यन्वयनमा ल्याउन पनि माग गरे । उक्त नीति देशभर विभिन्न क्षेत्र, भूगोल र समुदायमा कार्यरत मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षणका लागि अत्यन्त महत्वपूर्ण आधार रहेको उनको भनाई छ । न्यायप्रतिको प्रतिवद्धताका बाबजुद मानव अधिकार रक्षकहरू अझै पनि जोखिम, उत्पीडन, प्रणालीगत धम्की तथा कतिपय अवस्थामा भौतिक हिंसाको छायाँमा काम गर्न बाध्य रहेको उनले बताए । डर, त्रास र हस्तक्षेपविहीन वातावरणमा स्वतन्त्र रूपमा मानव अधिकारको रक्षा गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए । उनले राष्ट्रिय मानव अधिकार आयोगद्वारा मस्यौदा गरिएको मानव अधिकार रक्षकको संरक्षण, सुरक्षा र पहिचान सम्मान सम्बन्धी नमूना कानूनलाई छिटो स्वीकृत गरी कार्यान्वयनमा ल्याउन पनि आग्रह गरे ।
उनले हाल नेपालको मानव अधिकारको अवस्था जटिल बन्दै गएको र नागरिक अधिकार पनि क्रमशः खुम्चिँदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।
प्रकाशित मिति २०८३ असार ७ गते आइतबार ०३:०४




