काठमाडौं ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा एकरूपता ल्याउन ऐन संशोधन प्रक्रिया अघि बढाइएको बताएकी छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले विभिन्न ऐनअन्तर्गत सञ्चालित स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको संरचना र सेवा सुुविधामा एकरूपता ल्याउन ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ अघि बढाइएको बताइन् । मन्त्री मेहताले स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउन र नागरिकलाई स्तरीय विशेषज्ञ सेवा प्रदान गर्न प्रतिष्ठानहरूको व्यवस्थापन जरुरी रहेको उल्लेख गरिन् ।
मन्त्री मेहताका अनुसार हाल स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू आ–आफ्नै छुट्टाछुट्टै ऐनद्वारा सञ्चालित छन् । पदाधिकारीहरूको पदावधि, सेवा सुविधा र संरचनामा एकरूपता नहुँदा राज्यलाई थप आर्थिक भार पर्नुका साथै प्रशासनिक जटिलता समेत उत्पन्न भएको उनले बताइन् ।
प्रकाशित मिति २०८३ असार १८ गते बिहीबार ०७:२२




