पोखरा ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का का.मु. कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले किसानको अनुभव र आधुनिक ज्ञानको समन्वयमा कृषि क्षेत्रको अनुसन्धान तथा प्रविधि विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल कृषि तथा अनुसन्धान परिषद्ले आयोजना गरेको नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरुको अभिमुखीकरण कार्यक्रममा उनले किसानको अनुभव र आधुनिक विज्ञानलाई एकीकृत गर्दै कृषि क्षेत्रमा नयाँ नवप्रवर्तन (इनोभेसन) विकास गर्नुपर्ने बताएका हुन् ।
स्थानीय किसानसँग सहकार्य गर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले किसानसँग वर्षौंदेखिको व्यावहारिक अनुभव रहेको बताए । किसानले प्रयोग गर्दै आएका प्रविधि, सीप र अभ्यास स्थानीय हावापानी तथा माटोअनुकूल भएको उनको भनाई छ ।
उनले ती परम्परागत अभ्यासको वैज्ञानिक आधार र मर्म बुझ्दै अनुसन्धानकर्तासँग रहेको आधुनिक ज्ञान तथा प्रविधिको उपयोग गरी उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘स्थानीय किसानहरुसँग गर्ने जुन सहकार्य छ, त्यसमा अलिकति हामीले आफ्नो माइनसेट पनि अलिकति परिवर्तन गर्नुपर्ने छ । हामीले के रुप बाट बुझ्नुप¥यो भने किसानहरुसंग पनि ठूलो अनुभव छ । वर्षौं देखिको अनुभव छ, त्यो अनुभव, उहाँहरुको प्रयोग गर्नुभएको प्रविधि, टेक्नोलोजी, टेक्निक्स एकदमै टाईम टेस्टेड छ । स्थानीय हावापानी, माटो सुहाउँदो छ । उत्पादकत्व बढाउनको लागि तपाईहरुसँग भएको ज्ञान, आधुनिक ज्ञानको उपयोग र उहाँहरुसँग भएको अनुभवलाई हामीले आत्मसाथ गरेर त्यसको साईन्स र मर्मलाई बुझेर नयाँ इनोभेसन गर्न सकिन्छ, त्यसमा फोकस गरौँ ।’
उनले नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरुलाई किसान र माटोसँग बढी घुलमिल हुन आग्रह गरे । किसान र माटोसँग घुलमिल हुन नसकेमा नयाँ ईनोभेसन गर्न नसक्ने उनले बताए । उनले नार्कको लागी नयाँ ऐन बनाउने काम पनि अगाडी बढाएको जानकारी दिए ।
कृषि वैज्ञानिकलाई मर्यादित, व्यवसायिक र सम्मानयोग्य बनाउन आफूहरु लागिपरेको र यसमा सबै सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने बताए । नार्कको पुनःसंरचना गर्ने कामलाई पनि अगाडी बढाइएको उनले बताए ।
नार्कले नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरुलाई पाँच दिन अभिमुखिकरण दिने जनाएको छ । अभिमुखिकरणका क्रममा नार्क खुमलटारमा रहेका सबै अनुसन्धान केन्द्रहरुको अवलोकन भ्रमण गराउने पनि जनाईएको छ ।
अभिमुखिकरणपछि साउन १ गतेबाट सम्बन्धित कार्यलयहरुमा उनीहरुलाई खटाईने नार्कले जनाएको छ ।
प्रकाशित मिति २०८३ असार २४ गते बुधबार ०३:४२




