२०८३ साउन २१ गते बिहीबार

कर हटाउन माग गर्नेले कहाँ लगाउने भन्ने विकल्प पनि दिनुपर्छः अर्थमन्त्री डा. वाग्ले

कर हटाउन माग गर्नेले कहाँ लगाउने भन्ने विकल्प पनि दिनुपर्छः अर्थमन्त्री डा. वाग्ले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २५ गते बिहीबार ०४:५२

कर संकलनबिना राज्य सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले कर हटाउनुपर्ने माग गर्नेहरू सांसदहरुलाई कर कहाँ कहाँ लगाउने हो भन्ने सुझाव दिन पनि आग्रह गरे । सरकारले नागरिकलाई असर पर्नेगरी कहीँ पनि कर नलगाएको पनि उनले दाबी गरे ।

पोखरा ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउन माग गर्नेले त्यसको विकल्प पनि दिनुपर्ने बताएका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा भएको आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

कर संकलनबिना राज्य सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले कर हटाउनुपर्ने माग गर्नेहरू सांसदहरुलाई कर कहाँ कहाँ लगाउने हो भन्ने सुझाव दिन पनि आग्रह गरे । सरकारले नागरिकलाई असर पर्नेगरी कहीँ पनि कर नलगाएको पनि उनले दाबी गरे ।

सरकारको लक्ष्य प्रतिष्पर्धा बढाउने, लागत घटाउने र भौतिक पूर्वाधार विकासमा सहजीकरण गरेर उपभोक्ताले तिर्नुपर्ने मूल्यलाई घटाउनेमा रहेको उनको भनाई छ ।

करका विषयमा वैकल्पिक र व्यवहारिक सुझाव आएमा त्यसलाई सम्बोधन गर्न सरकार तयार रहेको उनले बताए ।

उनले भने, ‘कर नै नउठाईकन राज्य चल्दैन, कहीँ त उठाउनुप¥यो । माननीयज्यूहरुलाई मेरो विनम्र अनुरोध छ, कर उठाउँन हुँदैथियो भन्दै गर्दा कहाँ उठाउनुपर्ने हो, त्यो पनि सुभाव दिनुहोला, सुझाव चाँही त्यस्तोमा आयो भने राम्रो होला । हामीले गर्ने प्रतिष्पर्धा बढाउने, लागत घटाउने, भौतिक पुर्वाधारमा राज्यले सहजीकरण गरोस् ताकी उपभोक्ताले तिर्ने कर मुल्यमा समायोजन भएर आओस् । मर्म त्यो हो, तर कहीँ पनि कर लगाउँ भन्यो भने यो अलि अफ्ठ्यारो नै कुरा हो । यसमा माननीयज्यूहरुले उन्नत विकल्प दिनुभयो भने म आगामी सालको आर्थिक विधेयकमा यसलाई सम्बोधन गर्नेछु ।’

उनले दूरसञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगाएका कर दुर्गममा सोही क्षेत्रको पूर्वाधार निर्माणको लागि प्रयोग गरिने बताए ।

प्रकाशित मिति २०८३ असार २५ गते बिहीबार ०४:५२
हजुरको प्रतिक्रिया