२०८३ साउन २१ गते बिहीबार

नेपालमा नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्न शुरु, प्रतिगोटा लागतमा उल्लेख्य गिरावट

नेपालमा नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्न शुरु, प्रतिगोटा लागतमा उल्लेख्य गिरावट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ३० गते मंगलबार १०:२८

काठमाडौं । सरकारले नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण प्रक्रिया शुरु गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मंगलवार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै गत असार २९ गतेदेखि...

काठमाडौं ।

सरकारले नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण प्रक्रिया शुरु गरेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मंगलवार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै गत असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा सुचारु भएको जानकारी दिएका हुन् । सचिव राईका अनुसार नेपालले राहदानीको विकासक्रममा हस्तलिखित र मेसिन रिडेबल (एमआरपी) युग पार गर्दै अहिले अत्याधुनिक चिप्स जडित विद्युतीय राहदानी वितरण गरिरहेको छ । सन् २०१० देखि करिब १६ वर्षसम्म फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाइको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्रमार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको हो । विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रतिगोटा १० डलर ४५ सेन्ट र पछि १० डलर १३ सेन्टमा राहदानी छपाइको सम्झौता भएको थियो । सो कम्पनीमार्फत कुल ५८ लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ । वर्तमान सरकारले जर्मनीका दुई कम्पनी ‘मुलबउर’ र ’भेरिडोस’ सँग २०८० साल साउन १२ गते नयाँ ठेक्का सम्झौता गरेको थियो । नयाँ सम्झौताअनुसार प्रतिगोटा राहदानीको लागत ८ डलर ३१ सेन्ट कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो ।

नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग, केही जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट सेवा प्रवाह शुरु भइसकेको छ । प्रणाली पूर्ण रूपमा सुचारु हुन करिब तीन महिनाको ‘स्टेबिलाइजेसन पिरियड’ (स्थिरीकरण अवधि) लाग्ने सचिव राईले स्पष्ट पारे ।

वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राहदानी सेवालाई अत्यन्त संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्थापन मिलाएको उनको दाबी छ । परराष्ट्र सचिव राईले राहदानी विभागका महानिर्देशक लगायतको टोलीले प्रणालीको निरन्तर अनुगमन गरिरहेको र नेपाली जनतालाई सहज, सरल र सुलभ ढंगले सेवा प्रदान गर्न मन्त्रालय प्रतिवद्ध रहेको समेत व्यक्त गरे ।

प्रकाशित मिति २०८३ असार ३० गते मंगलबार १०:२८
हजुरको प्रतिक्रिया