पोखरा ।
आजदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ । तर केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आकस्मिक बाढी पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरुमा तथा मधेश प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका थोरै ठाउँहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक÷दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै आज ३५ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार रुकुम पश्चिम, रोल्पा, अर्घाखाँची र कपिलवस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले बाढीको उच्च जोखिम छ ।
यस्तै काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम र दोलखामा बाढीको जोखिम छ ।
चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), प्युठान, बाँके, बर्दिया, जाजरकोट, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
जोखिम रहेका ठाउँमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
उता लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरूद्ध छ ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–भोजपुर सडकखण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ–हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित पासाङल्हामु सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाउँदै प्रहरीले यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङका विभिन्न खण्डमा सडक खुलेपछि दुई तर्फि गाडी सञ्चालनमा आएका छन् । सडक खुलेसँगै नारायणगढ–मुग्लिन हुँदै पोखरातर्फ आउने र पोखराबाट जाने गाडी दुईतर्फी चल्न थालेका छन् ।
वर्षाका कारण पहिरोको जोखिम कायम रहेकाले स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाउने गरेको छ ।
प्रशासनले यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ ।
प्रकाशित मिति २०८३ साउन ४ गते सोमबार १२:२२




