म्याग्दी ।
म्याग्दीको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डायलाइसिस सेवालाई क्षमता विस्तार सहित थप सहज बनाइएको छ ।
अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल ब्यवस्थापन समितिको पहलमा गण्डकी प्रदेश सरकारको सहयोगमा थप तीन वटा मेसिन जडान गरिएपछि नयाँ बिरामीले पालो कुर्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
६ वटा मेसिनबाट तीन सिफ्टमा डायलाइसिस सञ्चालन भइरहेको अवस्थामा प्रदेश जनस्वास्थ्य कार्यालयको भवनाबट अस्पतालको पूरानो स्टोर रहेको भवन मर्मत गरी नयाँ मेसिनबाट सेवा प्रदान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमन्त बाँस्तोलाले बताए ।
विगतमा अस्पतालमा डायलाइसिस मेसिनको अभावका कारण नाम दर्ता गरेका बिरामीले बागलुङ, पर्वत र पोखरामा जाने गरेका थिए ।
अस्पतालमा डायलाइसिस सेवा लिनेमा ३७ जना बिरामी रहेका छन् । जसमध्ये हप्ताको तीनपटक पाँच जना रहेकोमा बाँकी बिरामी दुई र एक जनाले एक पटक सेवा लिइरहेका अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँको भनाई छ ।
डायलाइसिस युनिट कक्षमा नौ वटै डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साँझ गरी तीनपटक प्रत्येक बिरामीलाई सेवा दिने अध्यक्ष बानियाँको भनाई छ ।
विगतमा साँधुरो कोठामा सेवा लिनुपर्ने अवस्थामा हाल नयाँ मेसिनसहित संरचनाहरु समेत थप गरी बिरामीमैत्री भवनमा सञ्चालन गरिएको बिरामीका आफन्त मंगला गाउँपालिका–५, तारा क्षत्रीले बताए ।
अस्पतालमा डायलाइसिस सेवाका लागि म्याग्दी, बागलुङ, पर्वतका बिरामी सेवा लिँदै आएका छन् । गण्डकी प्रदेशमा जनसंख्याको आधारमा म्याग्दी धेरै मिर्गौला पीडित भएको जिल्लाको रूपमा समेत चिनिन्छ । हाल १० जनाले बिरामीले पालो कुरेको अवस्था छ ।
डायलाइसिस गर्नुपर्ने बिरामीलाई सातामा अवस्था हेरेर तीन, दुई र एक पटक गनुपर्छ । मिर्गौलाले काम गर्न छोडेको अवस्थामा शरीरमा जम्मा भएको फोहरलाई सफा गर्न डायलाइसिस गरिन्छ ।
शरीरमा भएका फोहर पदार्थ रगतका माध्यमबाट मिर्गौलामा जाने गरेकोमा मिर्गौलाले त्यसलाई छानेर पिसाबको माध्यमबाट निकाल्ने गरेकोमा मिर्गौलामा समस्या आएमा फोहर छान्न सक्दैन अवस्थामा बिरामीलाई स्वस्थ्य राख्न डायलाइसिस गरिन्छ ।
विसं २०७७ देखि बेनी अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सञ्चालन भएको थियो । डायलाइसिस सेवा जिल्लामै उपलब्ध भएपछि सबैभन्दा धेरै राहत विपन्न बिरामीलाई भएको छ ।
प्रकाशित मिति २०८३ साउन ९ गते शनिबार ११:५२




