२०८३ साउन २१ गते बिहीबार

साउनको दोस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ११ गते सोमबार ११:२५

पोखरा । साउन महिनाको दोस्रो सोमबार आज देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिने साउनको सोमबार पोखराका केदारेश्वर मन्दिरलगायत काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको...

पोखरा ।

साउन महिनाको दोस्रो सोमबार आज देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।

भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिने साउनको सोमबार पोखराका केदारेश्वर मन्दिरलगायत काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको हो ।

पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला गरिएको छ । दर्शनार्थीहरू हातमा जल, बेलपत्र, फूल र अक्षता लिएर दर्शनका लागि लामवद्ध भएका छन् ।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था तथा भक्तजनको सहजताका लागि स्वयंसेवकहरू परिचालन गरिएको छ ।

पशुपतिनाथका अतिरिक्त राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने माखन महादेव मन्दिरलगायतका शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ ।

त्यस्तै प्रसिद्ध धार्मिक स्थलहरू जस्तै धरानको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, र भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालुहरूको ठूलो सङ्ख्या उपस्थित रहेको छ ।

धार्मिक विश्वासअनुसार साउन महिना शिवको अति प्रिय महिना हो भने सोमबार विशेष दिन हो । यस दिन श्रद्धापूर्वक शिवको उपासना गर्दा पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

विशेषगरी महिलाहरूले यस महिनामा हरियो वस्त्र र मेहेन्दी लगाएर व्रत बस्ने तथा शिवको पूजा गर्ने परम्परा रहिआएको छ ।

साउनको सोमबार पारेर बोलबम तीर्थालुहरूले विभिन्न नदी तथा कुण्डबाट शुद्ध जल ल्याई शिवालयहरूमा अर्पण गर्ने कार्य पनि उत्साहका साथ चलिरहेको छ ।

 

प्रकाशित मिति २०८३ साउन ११ गते सोमबार ११:२५
हजुरको प्रतिक्रिया