पोखरा ।
प्रधानमन्त्री र मधेस केन्द्रित दलहरूबीच सुनसरीबाट शुरु भई मधेसका विभिन्न जिल्लामा फैलिएको पछिल्लो हिंसात्मक घटनाका विषयमा सिंहदरबारमा छलफल भएको छ ।
शुक्रबार भएको उक्त छलफलमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले घटनाको शान्तिपूर्ण समाधान र दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई ‘¥याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग गरेका छन् ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले प्रधानमन्त्रीले मधेस केन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको बताए ।
उनले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको समाधानका लागि संघीयता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।
अध्यक्ष राउतले यस्ता घटनाहरूलाई छिटपुट रूपमा मात्र नलिन आग्रह गर्दै प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्थायी ‘¥याट्स’ टिम गठन गर्न सुझाव दिए ।
उनले कुनैपनि अप्रिय घटना भए वार्ता र सम्झौतामार्फत तीन घण्टाभित्रै समस्या समाधान गरी शव व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । शवलाई लामो समयसम्म राख्दा समस्या थप विकराल बन्ने उनको तर्क छ ।
यसका साथै, हरेक जिल्लामा सबै धर्मका गुरु र धार्मिक अभियन्ताहरू सम्मिलित ‘अन्तरधार्मिक काउन्सिल’ गठन गरी मासिक रूपमा बैठक बस्नुपर्ने प्रश्ताव उनले राखेका छन् ।
यस्तो संयन्त्रले समुदायमा सौहार्दपूर्ण वातावरण निर्माण गर्न र गलत क्रियाकलापलाई निरुत्साहित गर्न ’प्रिभेन्सन मेजर’ (रोकथामका उपाय) का रूपमा काम गर्ने राउतको विश्वास छ ।
सुरक्षा निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै डा. राउतले प्रहरीलाई धार्मिक संवेदनशीलताका विषयमा ‘रिट्रेनिङ’ (पुनर्तालिम) दिनुपर्ने माग गरे ।
केही स्थानमा सुरक्षाकर्मीहरूको आक्रोशपूर्ण व्यवहारले हिंसा बढाएको भन्दै उनले सुरक्षा संयन्त्र वा सरकारी निकायको कतै न कतै कमजोरी वा संलग्नता हुन सक्ने आशंका व्यक्त गरे ।
उनले भने, ‘घटनास्थलमा बत्ती काटिनु, ५ दिनसम्म शव राखिनु, सीडीओहरू बिदामा बस्नु र सेना परिचालनका क्रममा देखिएका केही दृष्यहरू स्वाभाविक छैनन् । यी विषयमा निष्पक्ष छानबिन हुनुपर्छ । सेना वा प्रहरीमा स्थानीय भाषा बुझ्ने जनशक्ति नहुँदा संवादको साटो बल प्रयोगको अवस्था आउन सक्छ, त्यसैले समावेशिताको ठूलो महत्व छ ।’
अध्यक्ष राउतले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र प्रदेश प्रहरीको व्यवस्था गर्न ढिलाइ भएकाले पनि यस्ता समस्याहरू बल्झिएको बताए ।
स्थानीय भाषा र सामाजिक अवस्था बुझ्ने प्रदेश प्रहरी भएको भए समस्या प्रधानमन्त्री कार्यालयसम्म आउनु नपर्ने उनको दाबी छ ।
उनले नेपाली सेनालाई थप समावेशी बनाउनुपर्नेमा जोड दिँदै स्थानीय भाषा बुझ्ने सुरक्षाकर्मी परिचालन गरेमा भीड नियन्त्रण सहज हुने उल्लेख गरे ।
आफ्नो पार्टी सरकारलाई असफल बनाउने पक्षमा नरहेको स्पष्ट पार्दै अध्यक्ष राउतले सरकारलाई सचेत गराउन र देशमा शान्ति सुव्यवस्था कायम गर्न रचनात्मक भुमिका निर्वाह गरिरहेको बताए ।
प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार ०३:२९




