पोखरा ।
सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
सभाको शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरुले सुनसरी लगायत तराईका जिल्लामा उत्पन्न तनावबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
मधेसमा उत्पन्न धार्मिक तनावबारे सदनलाई जवाफ दिनको लागि सरकारलाई रुलिङ गर्न अध्यक्षको समेत ध्यानाकर्षण गराए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई जवाफ दिनुपर्ने बताइन् ।
पछिल्लो घटनाक्रम झन् जटिल बन्दै गएको र यसले आन्तरिक द्वन्द्व, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा गम्भीर असर पु¥याइरहेको उनले बताइन् । उनले यस्तो संवेदनशील घटनाप्रति सरकार पर्याप्त गम्भीर नदेखिएको आरोप लगाइन् ।
उनले सरकारले आफैंले बोलाउनुपर्ने सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री उपस्थित नभएको उल्लेख गर्दै तनाव शुरु भएकै बेला प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गरेको भए यति ठूलो क्षति नहुने दाबी पनि गरिन् ।
उनले सुनसरीमा गोली किन र कसको आदेशमा चलाइयो ? भन्ने विषयमा निष्पक्ष छानविन गर्न समेत माग गरिन् ।
उनले भनिन्, ‘यो घटनाको प्रकृति हेर्दाखेरी झन जटिल बन्दै गइरहेको छ । र यो घटनाले आन्तरिक द्वन्द्व बढाउने र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता भड्काउने कार्यमा बढावा दिइरहेको छ । यस्तो संवेदनशील घटनाप्रति सरकार गम्भीर देखिँदैन । आफैंले बोलाउनुपर्ने सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री उपस्थित हुनुभएको छैन । प्रधानमन्त्रीले तनाव शुरु हुने बित्तिकै सम्बोभन गरेको भए यत्रो क्षती हुँदैन्थ्यो होला । त्यसकारण सरकारले यसको उत्तर त दिनैपर्छ । आज किन गोली हानियो ? कसको आदेशमा गोली हानियो ? गोली प्रहरीले चलायो कि अरु कसैले यो विषयमा सत्यतथ्य जाँचबुझ गर्नुपर्दछ । किन सुरक्षा संयन्त्र कमजोर र विवास्पद हुँदै गइरहेको छ ? यी प्रश्नहरुको जवाफ दिनको निम्ति प्रधानमन्त्रीलाई रुलिङ गर्न म अध्यक्षज्यूसमक्ष माग गर्न चाहान्छु ।’
नेकपा (एमाले)की मुख्य सचेतक रोशनी मेचेले मधेसमा उत्पन्न समस्याको हल आपसि संवादबाट गर्नुपर्नेमा सरकारले क्रुर र बर्बताको बाटो रोजेको भन्दै भत्र्सना गरिन् ।
सरकार नागरिक बचाउन गएको हो कि गोली प्रहार गर्न ? उनको प्रश्न छ । उनले सुनरसरीसहित मधेश प्रदेश बलिरहँदा सरकार मौन बसेको आरोप पनि लगाइन् ।
उनले भनिन्, ‘सरकार नागरिक बचाउन गएको हो कि गोली प्रहार गर्न ? सुनसरीसहित मधेस प्रदेशमा धार्मिक तनावको आगो बलिरहँदा सरकार मौन बस्यो ।’
सांसदहरुले मधेसमा भएको संवेदनशील घटनाबारे सरकारको आधिकारिक धारणा संसदमार्फत सार्वजनिक गर्न माग गरे ।
प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार ०४:०७




