पोखरा ।
नेपाल आयल निगमले ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
निगमले शनिबार विज्ञप्ति जारी गरेर ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
‘१४.२ के.जि.को ग्याँस सिलिण्डरको बिक्री वितरणको सुरुवातपश्चात बजारमा ग्याँस अभाव भन्ने उपभोक्ता वर्गवाट गुनासो आइरहेकोले सम्पूर्ण ग्याँस उद्योगीहरुले बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयल निगमले बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रुपमा ग्याँसको बिक्री बितरण गर्न पनि अनुरोध गरेको छ ।
‘एलपी ग्याँसको आयात तथा बिक्री वितरण नियमित भइरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने हुँदा आम उपभोक्तालाई आवश्यक्ताअनुसार मात्र ग्याँस खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न निगम हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आयल निगमले ग्याँस नपाएको अवस्थामा हटलाइन नं.०१–५९७१९०२ (कार्यालय समय भित्र) मा सम्पर्क गर्न पनि भनेको छ ।
प्रकाशित मिति २०८३ साउन १६ गते शनिबार ०१:३९




