२०८३ साउन २१ गते बिहीबार

मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैनः माधवकुमार नेपाल

मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैनः माधवकुमार नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १७ गते आइतबार ०३:३२

पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गरेका छन् । आईतबार आयोजित तुल्सीलाल...

पोखरा ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको टिप्पणी गरेका छन् ।

आईतबार आयोजित तुल्सीलाल अमात्यको २९ औँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गरेका हुन् ।  मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने प्रमुख चुनौती मुलुकसामु रहेको सहसंयोजक नेपालको भनाइ छ ।

उनले नेपाल कुनैपनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समयम मुलुकमा आपसी असमझदारी बढ्ने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताए ।

उनले शहीदको त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको रक्षा गर्नु अहिलेको अर्को महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताए ।

उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तुल्सीलाल अमात्यले खेलेको भुमिका स्मरण गर्दै वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘देशको अस्तित्वको रक्षा कसरी गर्ने, देशको स्वाभिमान कसरी बचाउने ? देशलाई विदेशीको क्रीडाभूमी बन्नबाट कसरी बचाउने भन्ने चुनौती हाम्रो सामु छ । हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन । कसैको अधिनमा रहन चाहँदैन । कसैका विरोधमा पनि जान चाहँदैन । सबैसँग मैत्रीभाव राखेर मिलेर अगाडि बढ्न चाहन्छ । त्यसैले हामी सबै मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ । हाम्रा कोही बैरीहरु छैनन् र हामी बनाउन पनि चाहँदैनौँ । तर हामीलाई पनि कसैले बैरी बनाउने गरी, आपसि असमझदारी बढाउने गरी तान्ने कामहरु भइरहेका छन् । त्यसकारण पनि यो राष्ट्रियताको विषय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण विषय बनेको छ । यत्रो त्याग र बलिदानबाट हामीले प्राप्त गरेको यो संविधान, लोकतन्त्र, गणतन्त्र संघीयतालाई जोगाउनुपर्ने अर्को ठुलो जिम्मेवारी हाम्रो काँधमा छ । त्यसकारण कमरेड तुल्सीलालले देशमा लोकतन्त्रको लागि जसरी झण्डा बुलन्द गर्नुभयो, निर्दलीय व्यवस्था अन्त्य गर्न जसरी अगुवाई गर्नुभयो वहाँजस्तो योद्धा आज हाम्रो बीचमा हुनुहुन्न । तर हामीले सँगसँगै जनताका पीरमर्काहरु, गरिबी, वेराजगारी, मिटरब्याजपीडित, सहकारी पीडित र सुकुम्बासी नागरिकका समस्या राज्यले हल गर्नुपर्नेमा आज मानिसले आत्महतया गरेको खबर सुन्दा मन चस्स पोलेर आउँछ । यी सबै विषयमा पनि मुलुकका वामपन्थी शक्तिहरु गम्भीर हुन जरुरी छ । सबै देशभक्तजरु गम्भीर हुन जरुरी छ ।’

उनले जनताका दैनिक समस्याप्रति राज्य संवेदनशील हुन नसकेको आरोप पनि लगाए ।

उनले गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी ठगी र सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर नहुँदा नागरिकले आत्महत्या गर्न बाध्य भएको अवस्था दुःखद् रहेको भन्दै यी सबै कुराहरुमा वामपन्थी र लोकतन्त्रवादी शक्तिहरु गम्भीर बन्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८३ साउन १७ गते आइतबार ०३:३२
हजुरको प्रतिक्रिया