२०८३ असोज २३ गते शुक्रबार

नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस्

नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २६ गते मंगलबार ०३:२०

पोखरा । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित भई जनप्रतिनिधिहरूको सामना गर्न आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय...

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘गुप्तवास’ शैली छोडेर संसद्मा उपस्थित भई जनप्रतिनिधिहरूको सामना गर्न आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद र आफूलाई समर्थन गर्ने दलहरूबाट टाढिँदै गएको टिप्पणी गरे ।

शर्माले प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा मात्रै सुरक्षित र सुदृढ हुने बताए । सांसद शर्माले प्रधानमन्त्रीले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने दलहरूको कार्यालयमा समेत जान छोडेको भन्दै आलोचना गरे ।

प्रधानमन्त्री संसद र राजनीतिक दलहरूबाट टाढा रहेकै कारण सामाजिक सञ्जालमा एक्लोपन झल्किने खालका ‘स्टाटस’ लेख्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ । गुप्तवासमा नबस्नुहोस् । तपाईं एक्लै हुँदा एक्लै हुनुहुन्छ, तर संसदमा आउँदा सांसद र सिंगो संसद तपाईंको साथमा हुन्छ । तपाईंले सकारात्मक पहल गर्नुभयो भने संसदले साथ दिन्छ, तर गलत प्रक्रिया अपनाउनुभयो भने संसद नै तपाईंको विपक्षमा उभिन्छ । जसले तपाईंलाई प्रधानमन्त्री बनायो, त्यो दल र जसले तपाईंलाई विश्वासको मत दियो, त्यो संसदबाट टाढा भएर सरकार चलाउन सकिँदैन । त्यसैले संसदसँग निरन्तर संवाद र सहकार्य गर्न म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु । साथै, प्रधानमन्त्रीज्यूका पछिल्ला अभिव्यक्तिका सम्बन्धमा सम्माननीय सभामुखज्यूको ध्यानाकर्षण गराउँदै, आवश्यक भए प्रधानमन्त्रीज्यूलाई संसदमा उपस्थित गराई आफ्नो अभिव्यक्ति सच्याउन र संसदको अभिलेखमा समेत आवश्यक सुधार गर्न रुलिङ गर्न अनुरोध गर्दछु ।’

सांसद शर्माले प्रधानमन्त्रीको पछिल्लो समयका केही अभिव्यक्तिहरू विवादास्पद रहेको उल्लेख गर्दै ती अभिव्यक्ति सच्याउन सभामुखको ध्यानाकर्षण गराए ।

उनले प्रधानमन्त्रीलाई आफ्नो गलत अभिव्यक्ति सच्याउन रुलिङ गर्न र उक्त भनाइहरू संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन समेत सभामुखसँग माग गरे ।

प्रकाशित मिति २०८३ साउन २६ गते मंगलबार ०३:२०
हजुरको प्रतिक्रिया