२०८३ असोज २३ गते शुक्रबार

निर्वाचनमा हार व्यहोर्दैमा मैदान छाडेर भागिँदैनः ओली

निर्वाचनमा हार व्यहोर्दैमा मैदान छाडेर भागिँदैनः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १ गते सोमबार ११:०९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान रक्षा, लोकतन्त्रको सुदृढीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि आफ्नो पार्टी अविचलित रूपमा अगाडि बढ्ने बताएका छन् । झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’...

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान रक्षा, लोकतन्त्रको सुदृढीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि आफ्नो पार्टी अविचलित रूपमा अगाडि बढ्ने बताएका छन् ।

झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देशमा व्याप्त गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत हुनुपर्नेमा जोड दिए । यो देश नेपालीहरूको भएकाले यसलाई सही बाटोमा डो¥याउनु सबैको दायित्व भएको उनले जिकिर गरे । मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि एमालेले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई स्वाभाविक रूपमा लिँदै अध्यक्ष ओलीले हारबाट निराश नहुन कार्यकर्तालाई आग्रह समेत गरे । चुनावमा नराम्रोसँग हार व्यहोरेका तर हारपछि मैदान छोडेर भाग्ने एमालेको प्रवृत्ति नभएको बताए । एकपटक पछारिँदैमा अखडा छोडेर भाग्नेले कुस्ती खेल्न नसक्ने र जुरुक्क उठेर पुनः चुनौतीको सामना गर्ने नै विजयी हुने उनको भनाइ छ ।

एमाले कुनैपनि चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम रहेको दाबी गर्दै उनले पार्टी भगौडा नभई परिस्थितिसँग जुधेर अगाडि बढ्ने शक्ति भएको उल्लेख गरे । अध्यक्ष ओलीले देशको सभ्यता, संस्कार र संस्कृतिलाई फर्काउँदै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने जिम्मेवारी नेकपा एमालेको काँधमा रहेको समेत स्पष्ट पारे ।

प्रकाशित मिति २०८३ भदौ १ गते सोमबार ११:०९
हजुरको प्रतिक्रिया