२०८३ असोज २३ गते शुक्रबार

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २ गते मंगलबार ०६:१७

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । मङ्गलवार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको...

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छन् ।

मङ्गलवार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्न पुगेकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले पीडितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताइन् । पीडितहरूका समस्या समाधानका लागि विगतको अन्तरिम सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिइन् । भण्डारीले सामाजिक न्यायका लागि भइरहेको यस आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गरिन् ।

भेटका क्रममा आन्दोलनरत पीडितहरूले आफ्ना समस्या र पीडा सुनाएका थिए । पीडितहरूका तर्फबाट बोल्दै एक सहभागीले आफूहरू विगत चार दिनदेखि धर्नामा रहेको र कतिपय पीडितहरू सुनसरीको इनरुवादेखि १९ दिनको पैदल यात्रा गरेर काठमाडौं आएको जानकारी गराए । उनीहरूले तत्कालका लागि घुम्ती शौचालय र सुरक्षित बासस्थानको व्यवस्था गरिदिन पूर्वराष्ट्रपतिसँग आग्रह गरेका थिए ।

विगत केही समयदेखि लघुवित्त र मिटरब्याजका कारण समस्यामा परेका सर्वसाधारणहरू न्यायको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

प्रकाशित मिति २०८३ भदौ २ गते मंगलबार ०६:१७
हजुरको प्रतिक्रिया