पोखरा ।
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र युवा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकारले विगतका उपलब्धिहरूको अवमूल्यन गरेको, प्रशासनिक अराजकता फैलाएको र विलासितामा राज्यकोषको दोहन गरेको आरोप लगाए ।
सांसद विष्टले सूचना प्रविधिको नारा दिएर सत्तामा आएका नयाँ राजनीतिक शक्ति र युवा मन्त्रीहरूले नै खरिद प्रक्रियामा अनियमितता गरेको दाबी गरे ।
उनले भेरी लिफ्ट खानेपानी आयोजना लगायतका विकास निर्माणका काममा भइरहेको राजनीतिक हस्तक्षेप र ठेक्का रद्ध गर्ने कार्यको तत्काल छानबिन गर्न माग गरे ।
युवा मन्त्रीहरूले सदनमा उत्तर दिँदा विगत ३५ वर्षलाई गाली गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै विष्टले इतिहासको सम्मान गर्न सुझाव दिए । सांसद विष्टले कर्मचारी प्रशासनमा सरकारले ‘आतङ्क’ सिर्जना गरेको आरोप समेत लगाए ।
ऐन र नियम विपरित अवकाश हुन लागेका अनुभवी सहसचिवहरूलाई मन्त्रालयमा थुनेर राख्ने र सचिवालयमार्फत शासन चलाउन खोज्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने उनको तर्क छ ।
उनले भने, ‘सूचना प्रविधिको कुरा गर्ने तर ठेक्का प्रक्रिया रद्द गरेर ’हार्ड कपी’ पेस गर्न लगाउने कुन खालको पारदर्शी शैली हो ? ३५ वर्षमा केही भएन भन्नु गलत हो । ६०० मेगावाटबाट ४२०० मेगावाट विद्युत उत्पादन हुनु र देशमा सडक सञ्जालको विस्तार हुनु त्यसैको परिणाम हो । ३५ वर्षको इतिहास थाहा नभएका र लोकतन्त्रका लागि रगत नबगाएकाहरूले आज त्यही स्वतन्त्रताको उपयोग गरेर इतिहासलाई गाली गरिरहेका छन् । मन्त्रीहरू हेलिकप्टर चार्टर गरेर हिँड्ने र स्वकीय सचिवहरू स्काई भ्यान बुक गरेर सयर गर्ने कामले नयाँपनको आभास दिँदैन ।’
त्यसरकारले सुशासनको दाबी गरे पनि व्यवहारमा राज्यकोषको चरम दुरुपयोग भइरहेको उनले बताए ।
उनले विगतमा उपसचिव तहका सीमित स्वकीय सचिव रहने परम्परा तोडेर मन्त्री सरहको सुविधा दिने गरी सल्लाहकार र सहयोगीहरूको भीड जम्मा गरिएको भन्दै सरकारको आलोचना गरे ।
जनताले अझै पनि ग्यास, पासपोर्ट र दैनिक उपभोग्य वस्तुका लागि लाइन लाग्नुपर्ने बाध्यता रहेको भन्दै विष्टले सामाजिक सञ्जालमा गाली गरेर र गलत भाष्य निर्माण गरेर मुलुक नचल्ने बताए ।
उनले सरकारलाई इतिहासको अध्ययन गरी संयमित र जिम्मेवार भएर अघि बढ्न सुझाव दिए ।
प्रकाशित मिति २०८३ भदौ ३ गते बुधबार ०३:११




