पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ललिता कुमारीले बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रणका लागि अभिभावकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
उनले बालबालिका रोए, हाँसे वा खाना खुवाउने क्रममा मोबाइल दिने प्रवृत्ति बढेको भन्दै यसले बालबालिकाको बालापन नै स्क्रिनको जिम्मामा पुगेको बताइन् ।
उनले बालबालिकाको संवेदनशील अवस्थासमेत भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने तथा भ्युजका लागि बनावटी व्यवहार सिकाउने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरिन् ।
अत्यधिक स्क्रिन टाइमले बालबालिकामा विकाससम्बन्धी समस्या देखिन सक्ने उल्लेख गर्दै उनले मोबाइलको बढ्दो प्रयोग नियन्त्रणका लागि अभिभावकलाई सचेत गराउने कार्यक्रम सञ्चालन गर्न माग गरिन् ।
उनले भनिन, ‘एउटा गम्भीर प्रश्न छ, बालबालिकामा बढ्दो मोबाइल लतको जिम्मेवार को ? बच्चा रोयो भने मोबाइल, खाना खुवाउन मोबाइल, हामी व्यस्त भयो मोबाइल ? बच्चा हासेपनि मोबाइल र रोएपनि मोबाइल दिने कुरा कस्तो हो ? यहाँसम्म की बच्चाको संवेदनशील अवस्थालाई समेत भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति बढेको छ । अर्को कुरा हामीले बच्चालाई प्राकृतिक जीवनभन्दा भ्युजको लागि बनावटी व्यवहार सिकाइरहेका छौँ । हामीले बच्चाको बालापनलाई स्क्रिनको जिम्मा लगाएका छौँ । सभामुख महोदय अत्याधिक स्क्रिन टाइमले बच्चामा अटिज्म जस्तो विकासात्मक लक्षण देख्न सकिन्छ । मोबाइलको लतले बाल्यकाल खोस्न सकिन्छ । जुन गुम्यो भने कहिले पनि फर्किदैन । सभामुख महोदयमार्फत मेरो सरकारसँग माग छ, अभिभावकलाई लक्षित गरी सचेतनामुलक कार्यक्रम सञ्चालन गरियोस् ।’
पछिल्लो समयमा स्मार्टफोनको लत विश्वव्यापी रुपमै फैलिरहेको तथा यसको अत्याधिक प्रयोगले मानिसमा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरू निम्त्याइरहेको छ ।
प्रकाशित मिति २०८३ भदौ ३ गते बुधबार ०४:२०




