पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले सरकार, राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थालाई एकजुट भएर खोज, उद्धार र राहतमा जुट्न अपिल गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले तिब्बततर्फबाट आएको बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतमा जुट्न सबै पक्षमा अपिल गरेका हुन् ।
उनले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको समेत बताए ।
उनले गोसाइँकुण्ड यात्रामा रहेका दुई माइक्रोबस र एउटा बसमध्ये एउटा बस बाढीमा फसेर कयौँ जनाको ज्यान गएको सूचना प्राप्त भएको समेत जानकारी दिए ।
प्रभावित जिल्लाका सांसदहरू जिल्ला पुगेर खोज तथा उद्धारमा सहभागी हुने विषयमा छलफल भइरहेको समेत उनले बताए । उनले विपद्बाट पीडित परिवारलाई राज्य र सम्पूर्ण संसद् साथमा रहेको सन्देश समेत दिए ।
उनले भने, ‘सरकार एक प्रकारको तयारीमा छ यति हुँदाहुँदै पनि हामी सबैजना अन्यौलमै छौँ जस्तो देखिन्छ । हामी प्रभावित जिल्लाका सांसदहरु जिल्ला जाने कुरा र त्यहाँ गएर विपद्मा खोज र उद्धारको लागि सहभागि हुने पनि छ । हामीले यस विषयमा छलफल गरिरहेका छौँ । यसबाट हजारौँ जना वेपत्ता भएको खबर छ । लाखौँ मानिसहरु प्रभावित हुनुभएको छ । गोसाइकुण्ड यात्रामा रहेका दुई वटा माइक्रो बस र एउटा बसमध्ये एउटा बस बाढीमा फसेर कयौँ जनाले ज्यान गुमाएको भन्ने सूचना पनि मैले पाएको छु । त्यस्तै अन्य जिल्लाबाट रसुवामा काम गर्न गएका थुप्रै मानिसहरु यो विपद्मा पर्नुभएको सूचना प्राप्त भएको छ । यो दुःख र पीडाको घडीमा हामी सबै कसरी जोडिएर जाने भन्ने कुरामा हामी सबैलाई चिन्ताले छोएको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र नवलपरासी पश्चिमलाई क्षति पुर्याएको छ । विद्यालय, बस्ती, बजार, पुल पुलेसामा पूर्ण क्षति पुर्याएको रेकर्डहरु समेत आउन थालेका छन् । यो कल्पनाभन्दा बाहिरको क्षति हो । बाढीले क्षित व्यहोर्ने परिवारप्रति राज्य र पुरै संसद यहाँको साथमा छौँ भन्ने सन्देश दिन चाहान्छु । सरकार, सबै राजनीतिक दल, सबै सरकारी निकायहरु, संघ संस्था, पूर्वसैनिक प्रहरी समेत मिलेर राहत र उद्धारमा लागौँ ।’
उनले विपद्को सामना गर्न सरकारका संयन्त्रहरु सक्रियताका साथ काम गरिरहेको समेत बताए ।
प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार ०३:४६




