पोखरा ।
रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएको छ ।
सो क्षेत्रमा पुनः बाढीको जोखिम देखिसंगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ ।
जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा जानसमेत विशेष आग्रह गरिएको छ ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रबार जारी गरेको सूचनामार्फत सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो ।
नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्नसमेत प्राधिकरणले सबैमा आग्रह गरेको छ ।
प्रकाशित मिति २०८३ भदौ १२ गते शुक्रबार १२:३२